आज आश्विन शुक्ल नवमी सिद्धिदात्रीको पूजा गरिदै

संकृति - सम्पदा

आज आश्विन शुक्ल नवमी सिद्धिदात्रीको पूजा गरिदै

आज आश्विन शुक्ल नवमी , नवरात्रिको नवौं दिन पनिपर्न गएकोले महानवमी दुर्गा भवानीको नवौं शक्ति स्वरुपा माता सिद्धिदात्रीको विशेष पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेले भने आज आ-आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । सोमवार बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

महानवमीमा शक्तिस्वरुप सिद्धिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्त गर्ने विश्वाश छ र शक्तिस्वरुप सिद्धिदात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनै पनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी-खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।

पुजा गर्दा उच्चारण गर्ने मन्त्र-

मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।’

हिन्दु शाक्त परंपरामा नवदुर्गा सम्प्रदायको ठूलो महत्व छ, यिनीहरू दानवरूपी शक्तिलाई विनाश गर्ने सामुहिक रूपमा पूजिने नौवटी देवीहरूको संयुक्त समूह हो । आफुहरूले समाधान गर्न नसकेका समस्याहरू सल्टाउन, पराजित गर्न नसकेका दैत्यहरूलाई नष्टगर्न, आफुहरूमा विशेष शक्ति आर्जन गर्न, देवताहरू पनि यिनै दुर्गा देवीहरूलाई आह्वान गरि पूजा–आराधना गर्दछन् ।

वैदिक धर्ममा ४ रात्री प्रमुख छन् – मोहरात्री, सुखरात्री, शिवरात्री, कालरात्री । यी मध्ये कालरात्री नवदुर्गाहरू पुजिने रात्री हुन् । रात्री भनेको देवता हो र यो सोमतत्वको प्रतिक पनि हो; सोमतत्वले प्रकृति वा शक्ति भन्ने वुझाउँछ र कालरात्रीमा पुजिने शक्तिचाहिँ नवदुर्गाहरू हुन् । भगवती देवी सर्वव्यापक एकात्मक शक्ति भएपनि उहाँका विभिन्न स्वरूपहरू उपासनाका लागि प्रयुक्त हुन्छन् । ती मध्ये पनि नवदुर्गाका स्वरूप अत्यन्तै पवित्र मानिन्छन् । शिवपुराणमा शिवद्वारा पुत्र गणेशको शिरोच्छेदन गरिंदा देवी पार्वती अत्यन्त क्रुद्ध भई आफ्नै शरीरबाट शिव लगायत सम्पूर्ण देवताहरूको संहार गर्ने हेतु लाखौ शक्ति (देवी)हरूको सृष्टि गरेकी थिइन् र तीनीहरूमध्ये नवदुर्गा प्रमुख मानिन्छन् । यी नवदुर्गाहरूले चारै दिशाबाट देवताहरूलाई त्राहिमाम् पारे पश्चात देवताहरूले नवराक्रको अवसरमा त्रमशः यीनै नवदुर्गाहरूको पुजा आरधना गरेपछि दुर्गाहरू शान्त भएको चर्चा पाइन्छ । प्राचीन समयमा नवरात्रमा नै विजयादशमीका दिन राजाहरू अपराजिता दुर्गाको पूजागरी आफ्नो राज्यको दशै दिशाको सीमाबढाउन अभियान आरम्भ गर्दथे ।

नवरात्रका अवसरमा यसै गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ ।

नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ। काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ । दुर्गा–सप्तशती लगायत पुराणहरूमा नवदुर्गा समुहमा शैलपुत्री,, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धमाता वा सिद्धिदात्री पर्दछन् । दुर्गा–सप्तशतीमा ब्रह्माजीले मार्कण्डेय ऋषिलाई यी नौ नामले प्रसिद्ध नवदुर्गा देवीहरू छन् ।

नवदुर्गाका नौवटा स्वरुपको वर्णन:

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।