दशैंमा ट्राफिक प्रहरी: सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म

समाचार

काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी (दशैं) को अवसरमा काठमाडौँ उपत्यकामा सवारी सुरक्षाका लागि विशेष योजना लागू गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दशैंको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक ट्राफिक तथा सुरक्षा योजना तयार पारिएको जानकारी दिए । नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्दै एसपी सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरूले गुनासो या सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।

उनका अनुसार, यात्रुहरूलाई आवश्यक सूचना प्रवाह, ट्राफिक सचेतना अभिवृद्धि तथा आकस्मिक समस्याको तत्काल समाधानका लागि सहायता कक्षले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

उपत्यकालाई दुई समूहमा ट्राफिक प्रहरी परिचालन
दशैंको समयमा सवारी चाप वृद्धि हुने भएकाले राजधानी क्षेत्रलाई दुई समूह– ‘क’ र ‘ख’– मा विभाजन गरिएको छ । समूह ‘क’ अन्तर्गत २३ युनिट र समूह ‘ख’ अन्तर्गत २४ युनिट ट्राफिक प्रहरी परिचालित छन् ।
एसपी सुवेदीका अनुसार, ‘हाम्रो उद्देश्य सजाय होइन, सचेतना अभिवृद्धि हो । यात्रामा कसैले गल्ती गरेमा दण्डित गर्नुभन्दा पनि सुधार गर्ने अवसर दिन चाहन्छौं ।’

रात्रिकालीन चेकिङ : पाँच समूहमा ६९ युनिट परिचालन
चाडपर्वमा मादक पदार्थ सेवनगरी सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले रातको समयमा विशेष निगरानीका लागि पाँच समूहमा विभाजन गरिएको छ । समूह ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ अन्तर्गत क्रमशः १४, १४, १५, १४ र १२ युनिट गरी कुल ६९ युनिट परिचालित छन् । रातको समयमा सम्भावित दुर्घटना र अनुशासनहीन सवारी गतिविधि रोक्न यी युनिटहरू निरन्तर गस्तीमा रहनेछन् ।
लामो दूरीका सवारीमा अनुगमन कडा
२५० किलोमिटरभन्दा बढी दूरीका सवारी साधनमा दुई चालक अनिवार्य व्यवस्था लागू गर्न ट्राफिक प्रहरीले कडाइ गरेको छ । ट्राफिक कम्युनिकेशन एपमार्फत चालक संख्या, क्षमताभन्दा बढी यात्रु राखिएको वा बढी भाडा लिएको जस्ता गतिविधिमा निगरानी गरिने सुवेदीले बताए ।

प्रमुख स्थानहरूमा सशक्त उपस्थिति
बसपार्क, नाका, सुपरमार्केट, सपिङ मलजस्ता स्थानहरूमा ट्राफिक प्रहरी र सिभिल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । एसपी सुवेदीका अनुसार, ‘नागरिकलाई सुरक्षा प्रत्याभूति दिन हामी संयुक्त रूपमा खटिएका छौं । हामी उच्च मनोबलका साथ फिल्डमा छौं ।’
प्रविधिमार्फत निगरानी ः लागूपदार्थ र मापसेमा कडाइ
सवारी चेकिङमा प्रविधिको प्रयोग बढाइएको उनले बताए । लागुपदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई पहिचान गर्न विशेष उपकरण र प्रविधिको प्रयोग भइरहेको उनको भनाई छ ।

प्रहरीको मनोबल उच्च, सेवा सुचारु हालैका जेनजी आन्दोलनका कारण केही कार्यालयहरू क्षतिग्रस्त भए पनि सेवा प्रवाह प्रभावित नभएको एसपी सुवेदीको भनाइ छ । ‘कुनैपनि प्रहरी कर्मचारी मनोबल गुमाएर बसेका छैनन्,’ उनले स्पष्ट गरे, ‘युनिफर्म र आवश्यक सामग्री सबैमा पुगेको छ, हामी युनिफर्ममै सेवा दिइरहेका छौं ।

नागरिकलाई सूचना दिन आह्वान
एसपी सुवेदीले सवारी वा समाजमा असामाजिक गतिविधि देखिएमा १०० वा १०३ मा फोन गरी नजिकको प्रहरीलाई जानकारी दिन नागरिकहरूलाई अनुरोध गरे । साथै, लामो दूरी यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिए ।
ट्राफिक प्रहरीको यो विस्तृत योजना दशैंमा नागरिक सुरक्षाका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ । सुवेदी भन्छन्, ‘हामी नागरिकका आँगनमै सेवा दिन तयार छौं, सूचना दिनुहोस्, सेवा हाम्रो तर्फबाट सुनिश्चित हुनेछ ।’