काठमाडौं, ९ असोज २०८२ –नेपालमा हालै पर्सा तथा बारा जिल्लामा देखिएको हैजाको महामारीको आपतकालीन प्रतिकार्यमा सहयोग गर्न आज युनिसेफ र विश्व स्वास्थ्य संगठनले गाभी, द भ्याक्सिन एलायन्सको सहयोगमा १०,१८,१०० मात्रा मुखबाट लिने हैजाको खोप (Oral Cholera Vaccine – OCV) प्रदान गरेका छन्।
यी खोपहरू अन्तर्राष्ट्रिय समन्वय समूह (International Coordinating Group) को हैजा खोप भण्डारणबाट उपलब्ध गराइएको हो । पर्सा जिल्लाका सबै नगरपालिका तथा बारा जिल्लाका छ वटा नगरपालिकामा १ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै व्यक्तिहरूलाई यो खोप दिन आपतकालीन खोप अभियान सञ्चालन गरिनेछ।
पर्सा तथा बारा जिल्लामा गत भदौ देखि हालसम्म १५०० भन्दा बढी हैजाका बिरामी पुष्टि भइसकेका छन्। प्रभावित व्यक्तिहरूमध्ये धेरैजसो १५ देखि २४ वर्ष उमेर समूहका बालबालिका र युवा छन्। हाल दैनिक संक्रमितको संख्या केही घटेको छ र मृत्युको घटना दर्ता नभए पनि सुरक्षित पानी र सरसफाइको अभाव भएका समुदायहरूमा संक्रमण फैलिने उच्च जोखिम कायमै छ।
खोप उपलब्ध गराउनुका साथै युनिसेफ र विश्व स्वास्थ्य संगठनले नेपाल सरकारको हैजा नियन्त्रण प्रयासमा विभिन्न तरिकाले सहयोग गर्दै आएका छन् — महामारी निगरानी प्रणालीलाई सुदृढ बनाउने, स्वयंसेवकहरूलाई सरसफाइ र जोखिम सञ्चार सम्बन्धी तालिम र परिचालन, स्वास्थ्यकर्मीहरूलाई केस व्यवस्थापन सम्बन्धी तालिम, पानीको गुणस्तर परीक्षण तथा क्लोरिनेशन, हैजाको किट, पुनर्जलिय झोल (oral rehydration salts solution) र पानी सफा पार्ने सामग्री वितरण गरिएका छन्।
साथै, घर-घरमा जनचेतना फैलाउने अभियान, वास्तविक समयमै संक्रमित पत्ता लगाउन डिजिटल सर्भिलेन्स उपकरण प्रयोग, समुदायको प्रतिक्रिया संकलन, र उच्च जोखिम भएका स्थानहरूमा पानी, सरसफाइ र स्वच्छता (WASH) सम्बन्धी जनचेतना कक्षाहरू सञ्चालन गरिएका छन्।
युनिसेफकी नेपाल प्रतिनिधि मिस एलिस अकुङ्गाले भनिन्: “हैजाको महामारीमा बालबालिका र जोखिममा रहेका समुदायहरू सबैभन्दा बढी प्रभावित हुन्छन्। उनीहरूको स्वास्थ्य र सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो। यी खोपहरू करिब ३८०,००० बालबालिकासहित १० लाखभन्दा बढी जनसंख्यामा वितरण गरिनेछन् । देशमा WASH क्लस्टरको सह-नेतृत्व गर्ने संस्थाको हैसियतले, युनिसेफ नेपाल सरकार तथा साझेदारहरूसँग सहकार्य गर्दै सबैलाई सुरक्षित पानी, सरसफाइ र स्वच्छता सेवा सुनिश्चित गर्न र खोप अभियानमा सहयोग गरेर संक्रमण फैलिने क्रम रोक्न प्रतिबद्ध छ ।”
युनिसेफको आपूर्ति महाशाखाले खोपको ढुवानी गरेको हो भने विश्व स्वास्थ्य संगठनले राष्ट्रिय तथा स्थानीय स्वास्थ्य निकायहरूसँग सहकार्य गर्दै खोप अभियानको योजना र कार्यान्वयनमा प्राविधिक सहयोग प्रदान गरिरहेको छ। यी खोपहरू हैजाको संक्रमण घटाउने, ज्यान जोगाउने र सरकारको आपतकालीन प्रतिक्रिया सुदृढ बनाउने संयुक्त प्रयास हुन्।
“नेपालमा देखिएको हैजाको प्रकोप विश्वभर बढ्दै गएको हैजाका घटनाहरुको चिन्ताजनक श्रृंखलाको एक हिस्सा हो, जसले तत्काल समन्वयात्मक प्रतिकार्यको आवश्यकतालाई जोड दिन्छ ।” विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनीधि डा. राजेश सम्भाजीराव पाण्डवले भन्नुभयो । “खोप अभियान सञ्चालन गर्नुका साथै विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई हैजा रोगको निगरानी र केस पहिचानको कार्यलाई सुदृढ पार्न, पानीको नमूना संकलन र प्रयोगशाला परीक्षण विस्तार गर्न, हैजा किटहरू तयारी अवस्थामा राख्न, केसहरुको उपचार तथा व्यवस्थापनलाई सुदृढ गर्न, र स्वास्थ्य संस्थाहरूमा संक्रमण रोकथाम र नियन्त्रणलाई सुदृढ बनाउने कार्यमा निरन्तर सहयोग गरिरहेको छ । यी कार्यहरू तत्कालका लागि समुदायलाई सुरक्षित राख्न आवश्यक छन् तर भविष्यमा हुने प्रकोपहरुलाई रोक्न र जीवन बचाउनका लागि सुरक्षित पानी, सरसफाइ र स्वास्थ्य पूर्वतयारी लगायत खोप उत्पादनमा निरन्तर लगानी गर्नु उत्तिकै महत्वपूर्ण छ ।”
हैजा छिटो फैलिने पानीजन्य रोग हो, जसले शरिरमा गम्भीर डिहाइड्रेसन (पानीको कमी) गराउँछ र समयमा उपचार नगरिए मृत्यु पनि हुन सक्छ। यो रोग, विशेषगरी सरसफाइ कमजोर र सफा खानेपानीको पहुँच सीमित भएको ठाउँमा, दूषित पानी र खाना मार्फत सर्छ । तर, केही सजिला उपायहरू अपनाएर हैजाबाट जोगिन सकिन्छ — सफा र शुद्धिकरण गरिएको पानी पिउने, साबुन पानीले हात धुने, राम्रो व्यक्तिगत र वातावरणीय सरसफाइ कायम राख्ने, बहु-क्षेत्रीय पहल मार्फत पानीका स्रोत र पाइपलाई सुरक्षित राख्ने र मर्मतसम्भार गर्ने, तथा खानेपानीका भण्डारन गर्ने ठाउँहरु सफा गर्ने । जनचेतना, सरसफाइ र समयमै उपचारको पहुँच हैजा फैलिन नदिने अत्यन्तै आवश्यक कदमहरु हुन्।