काठमाडौँ । रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर पश्चात सम्झौता पत्र अदलाबदलि गरेका छन् ।
उक्त सम्झौता अनुसार दुबै महासंघले चेसलाई आपसी मित्रता र समझदारीको माध्यमका रूपमा उपयोग गर्दै विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन्। सम्झौतामा दुबै पक्षबीच चेस लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडी टोलीहरूको दुई देशीय आपसी भ्रमण गरिने व्यवस्था गरिएको छ ।
यस्तैगरी नेपाल र रसियामा खेलाडीहरूको तालिम सञ्चालन गरिने तथा अनलाइन मार्फत समेत प्रशिक्षण हुने उल्लेख छ । त्यस्तै नयाँ खेलाडी तयार गर्न प्रशिक्षकहरूको सीप अभिवृद्धि, अतिरिक्त शिक्षा र तालिमको व्यवस्था समेत गरिनेछ । नेपाल र रुसमा दुई राष्ट्रका खेलाडी बीच द्विपक्षीय प्रतियोगिता आयोजना गर्ने तथा समयानुकूल अनलाइन मार्फत पनि यस्ता प्रतियोगिता सञ्चालन गरिनेछ ।
साथै, चेस सम्बन्धी विषयगत गोष्ठी, सम्मेलन र विभिन्न कार्यक्रमहरूको समेत आयोजना गर्ने सहमति भएको छ।