नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ ।
कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ । कुष्माण्डाको अर्थ कुभिण्डो हो ।
गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि शान्सारिक दुःख कष्ट तथा पीडामा शितलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुप मानेर नवरात्रको चौथो दिन यसको पूजाआजा गर्ने चलन रहेको छ । शक्तिपीठ तथा देवी मन्दिरहरूमा आज कुभिन्डोको विधिपूर्वक पूजा गरी त्यसैको बली समेत चढाउने गरिन्छ ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ ।
पुजा गर्दा उच्चारण गर्ने मन्त्र-
‘ॐ ऐं ह्रीं क्लीं कुष्माण्डायै नम:।’
हिन्दु शाक्त परंपरामा नवदुर्गा सम्प्रदायको ठूलो महत्व छ, यिनीहरू दानवरूपी शक्तिलाई विनाश गर्ने सामुहिक रूपमा पूजिने नौवटी देवीहरूको संयुक्त समूह हो । आफुहरूले समाधान गर्न नसकेका समस्याहरू सल्टाउन, पराजित गर्न नसकेका दैत्यहरूलाई नष्टगर्न, आफुहरूमा विशेष शक्ति आर्जन गर्न, देवताहरू पनि यिनै दुर्गा देवीहरूलाई आह्वान गरि पूजा–आराधना गर्दछन् ।
वैदिक धर्ममा ४ रात्री प्रमुख छन् – मोहरात्री, सुखरात्री, शिवरात्री, कालरात्री । यी मध्ये कालरात्री नवदुर्गाहरू पुजिने रात्री हुन् । रात्री भनेको देवता हो र यो सोमतत्वको प्रतिक पनि हो; सोमतत्वले प्रकृति वा शक्ति भन्ने वुझाउँछ र कालरात्रीमा पुजिने शक्तिचाहिँ नवदुर्गाहरू हुन् । भगवती देवी सर्वव्यापक एकात्मक शक्ति भएपनि उहाँका विभिन्न स्वरूपहरू उपासनाका लागि प्रयुक्त हुन्छन् । ती मध्ये पनि नवदुर्गाका स्वरूप अत्यन्तै पवित्र मानिन्छन् । शिवपुराणमा शिवद्वारा पुत्र गणेशको शिरोच्छेदन गरिंदा देवी पार्वती अत्यन्त क्रुद्ध भई आफ्नै शरीरबाट शिव लगायत सम्पूर्ण देवताहरूको संहार गर्ने हेतु लाखौ शक्ति (देवी)हरूको सृष्टि गरेकी थिइन् र तीनीहरूमध्ये नवदुर्गा प्रमुख मानिन्छन् । यी नवदुर्गाहरूले चारै दिशाबाट देवताहरूलाई त्राहिमाम् पारे पश्चात देवताहरूले नवराक्रको अवसरमा त्रमशः यीनै नवदुर्गाहरूको पुजा आरधना गरेपछि दुर्गाहरू शान्त भएको चर्चा पाइन्छ । प्राचीन समयमा नवरात्रमा नै विजयादशमीका दिन राजाहरू अपराजिता दुर्गाको पूजागरी आफ्नो राज्यको दशै दिशाको सीमाबढाउन अभियान आरम्भ गर्दथे ।
नवरात्रका अवसरमा यसै गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ।
नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ। काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।
हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ । दुर्गा–सप्तशती लगायत पुराणहरूमा नवदुर्गा समुहमा शैलपुत्री,, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धमाता वा सिद्धिदात्री पर्दछन् । दुर्गा–सप्तशतीमा ब्रह्माजीले मार्कण्डेय ऋषिलाई यी नौ नामले प्रसिद्ध नवदुर्गा देवीहरू छन् ।
नवदुर्गाका नौवटा स्वरुपको वर्णन:
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।
