जेनजी आन्दोलनको उपलब्धीहरुलाई खेर जान दिनेछैन् : मन्त्री सिन्हा

Headlines राजनीति

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनील कुमार सिन्हाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरुको आहुति खेर नजाने बताएका छन् ।

सोमबार शपथ ग्रहणसँगै पदभार ग्रहण गर्न सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनु परेको भन्दै उनीहरुको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए ।

उनले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि र जुन प्रयोजनको लागि आन्दोलन भएको थियो, जुन कुरा उठाउनुभयो त्यसका लागि काम गर्नुपर्नेछ । जस्तो अहिले देशमा भइरहेको सुशासन र रोजगारीको अभावमा धेरैले ज्यान पनि गुमाउनु परेको छ । उहाँहरुले दिनु भएको देन र ज्यानको आहूति आगामी दिनमा खेर जादैँन् भन्ने विश्वास लिएको छु । मैंले जुनसुकै काम गर्दा पनि उहाँहरुको अनुहार मेरो अगाडि आउँछ । घाइतेहरुको अनुहार पनि आउँछ । सायद त्यसले मलाई उर्जा पनि दिन्छ ।’

यस्तै, उनले युवाहरुको सीप व्यवस्थापन र रोजगारीका कुराहरु आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरुलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए ।

उनले भने, ‘उद्योग र देशको अर्थ व्यवस्था चलाएमान भएन भने युवा साथीहरुले देशभित्र बस्ने वातावरण बन्न सक्दैँन् । त्यो वातावरण बनाउनको लागि उहाँहरुको क्षमता विकास गर्नुपर्ने अवस्था पनि छ । सबैभन्दा पहिला युवाहरुको सीप व्यवस्थापन, रोजगारीका कुराहरु नै पहिलो प्राथमिकता हुनेछ । जसको मृत्यु भएको छ, जो घाइते हुनुहुन्छ उहाँहरुलाई देशमा भएका उद्योगमा रोजगारी दिने विषयमा छलफल गर्नेछु ।’