रौतहटको गरुडामा रहेको दुर्गा मन्दिर वरपर र बजार क्षेत्रमा सरसफाई गरिएको छ । दुर्गा पूजाको पावन अवसर पारेर गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको अग्रसतामा सरसफाई गरिएको हो ।
सरसफाई नगर प्रहरी, जनप्रतिनिधि, स्थानीय समाजसेवीहरू समेत सहभागिता थियो ।
नवरात्रिको पहिलो दिन आज मन्दिरमा बिधि पुर्वक घटस्थापना राखिएको नगर प्रमुख जैसवाल बताए । उनका अनुसार यस क्षेत्रमा मेला समेत लाग्ने गरेकाले फोहोर हुन नदिनका लागि दैनिक सरसफाई गरिने छ । सार्वजनिक स्थलहरूलाई सफा र आकर्षक राख्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै उनले यस अभियानमा सबै एकजुट हुनुपर्ने धारण राखे ।
दशैं तथा दुर्गा पूजाको समयमा गरुडा नगरलाई स्वच्छ, सुन्दर र आकर्षक बनाउन नगरपालिकाले विशेष पहल गरेको छ । प्रमुख जैसवालले भने, ‘यसरी सामूहिक प्रयासबाट मात्रै सफा, स्वस्थ र सुन्दर शहर बनाउन सकिन्छ ।’ अब सरसफाई अभियानलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
गरुडाको मेथुरचौक, दुर्गा मन्दिरको प्राङ्गण तथा मुख्य बजार क्षेत्र लगायत अन्य भीडभाड हुने स्थानहरूलाई सफा गरिएको हो । यसका साथै सडकछेउका फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गरिएको गरुडा नगरपालिकाले जनाएको छ ।