काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न/नगराउन निर्देशन दिएको छ। मन्त्रालयले बिहीबार प्राधिकरणलाई पत्र पठाउँदै थप निर्णय नहुन्जेलसम्म हाजिर नगर्न भनेको हो।
शरद ओझामाथि प्राधिकरणको नियुक्ति प्रक्रियामा अनुभवसम्बन्धी फर्जी कागजपत्र पेश गरेको आरोप छ। यही कारणले मन्त्रालयले उनलाई २०८२ असार ३० गते निलम्बन गरेको थियो। ओझा निलम्बनमा परेपछि सहसचिव सेवन्तक प्रोख्रेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो।
ओझालाई २०८१ फागुन १३ गते अर्थ मन्त्रालयले प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को १२ फागुन २०८१ को निर्णयअनुसार उनको नियुक्ति भएको हो। तर, फर्जी कागजपत्रसम्बन्धी मुद्दा अदालतमा पुगेपछि मन्त्रालयले उनलाई असार ३०, २०८२ मा निलम्बन गरेको र ०८१ सालको भदौ २ गते बर्खास्त गरेको जनाएको छ।

बर्खास्तीपछि नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले आवेदन आह्वान गरिसकेको छ। हालसम्म अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्।
