काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै आफूलाई “माननीय” नभन्न आग्रह गरेका छन्।
पदभार ग्रहण समारोहमा उनले पूर्वतयारीबिनाका तथा टुक्राटाक्री आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको बताए। मन्त्री खनालले आफ्नो पहिलो प्राथमिकता जेनजी युवाका माग पूरा गर्नु रहेको स्पष्ट पारे।
उनले भने, निर्वाचन गर्नुपर्ने अवस्था आए स्रोत जुटाउनै पर्ने हुन्छ, त्यसका लागि अनावश्यक खर्च कटौती गर्नु अपरिहार्य छ।

अर्थ मन्त्रालयलाई प्रभावकारी बनाउन, जेनजी युवाको विश्वास र भावना अनुसार काम गर्न तथा निर्वाचनका लागि आवश्यक रकमको व्यवस्था गर्न आफू कटिबद्ध रहेको उल्लेख गर्दै मन्त्री खनालले कर्मचारीहरुलाई “नजानेर गल्ती नगर्न” निर्देशन दिए।
