काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवाहरू निरन्तर सुचारु राख्न निर्देशन दिएको छ।
बिहीबार बिहान जारी सूचनामार्फत केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थाहरूलाई आफ्ना सम्वेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गर्न आग्रह गरेको हो। यो व्यवस्था देशको सुरक्षा कमाण्ड हातमा लिएको नेपाली सेनाले पछिल्लो विज्ञप्तिमा सुझाएको प्रावधानसँग मेल खानेछ।
यसबाहेक, अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताइएको छ। साथै, सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी विवरण आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन पनि केन्द्रीय बैंकले अनुरोध गरेको छ।



