८७ वर्षीय बुबा र ८२ वर्षीया आमासम्म आक्रमण : गभर्नर पौडेलले सेयर गरे पीडादायी अनुभव

Headlines समाचार

काठमाडौं । भैँसेपाटीस्थित घरमा आगजनी मात्र होइन, चितवनको गाउँमा रहेका ८७ वर्षीय बुबा र ८२ वर्षीया आमासमेत आक्रमणको सिकार बनेको गभर्नर महाप्रसाद पौडेलले बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव सार्वजनिक गर्दै उनले बाल्यकालदेखि परिवारको सम्झनासँग जोडिएका घरमा भएको तोडफोड, आगलागी र वृद्ध आमाबाबु माथिको आक्रमणलाई जीवनकै सबैभन्दा पीडादायी क्षणका रूपमा चित्रण गरेका छन् ।

जेनजी प्रदर्शका क्रममा काठमाडौं भैसेपाटीमा रहेको घरमा भएको आगलागी र चितवनको घरमा तोडफोडको विषयलाई लिएर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले भनेका छन्, ‘जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ मागेको छैन, दिएको मात्र हुँला। हरेक सातामा एकपटक भए पनि आमा–बाबासँग खाना खान गाउँ पुग्ने गर्थें।’

गभर्नर पौडेलले भैसेपाटीको घर योजना आयोगको उपाध्यक्ष हुनु अघि नै छात्रवृत्ति तथा विदेशमा काम गरेर संकलन गरेको आम्दानीबाट निर्माण गरेका र श्रीमती र नौ वर्षीया छोरीसँग बस्दै आएको उक्त घरमा प्रदर्शनकारीले प्रवेश गरी पुस्तकमात्र होइन, ऐतिहासिक सामग्री, कलाकृति, देवदेवताका मूर्ति, दुर्लभ पुस्तकहरू लगायत सबैमा आगो लगाएको बताएका छन् ।

उनका अनुसार छोरीलाई नतर्सियोस् भनेर सधैंसँगै सुत्न दिने ‘मन्त्रेको खेलौना’ समेत कुल्चेर जलाइएको थियो । ‘त्यो रात हामी सबै शरणार्थी भयौं,’ गभर्नर पौडेलले भनेका छन् । आगजनीपछि ढिलो रातीसम्म घर जलिरहेको र बीच–बीचमा ढुंगामुढा तथा चोरीसमेत भएको छिमेकीले जानकारी दिएको उल्लेख गरिएको छ ।

यस्तै चितवनमा रहेको घरमा समेत आक्रमण भएको उनले बताएका छन् । कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा आक्रमण गरिएको उनले बताए । गभर्नर भएपछि पनि हरेक हप्ता एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गरेको उनले बताएका छन् ।

चितवनस्थित घरमा भएको आक्रमणको भिडियो सेयर गर्दै पौडेलले भने, ‘यस भिडियोमा शुरूमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीय बुढी आमाको सुत्ने कोठा हो । वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म विद्यार्थी छँदा नै बनाएको घर हो ।’

गभर्नर पौडेलका बुवा ८७ वर्षका भएका छन् । भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् भन्दै भिडियो सेयर गरेका छन् ।

‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केही अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो । ६७ वर्षअघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन्,’ उनले भने, ‘जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सिधैँ कक्षामा फस्ट हुन्थे । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस् ।’