काठमाडौँ, २४ भाद्र २०८२ – काठमाडौँको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्।
उक्त आदेश अनुसार तोकिएको चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्। कर्फ्यू आदेशको उल्लङ्घन गर्नेलाई कानुन अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
कर्फ्यू लागू हुने क्षेत्रहरू:

- कोटेश्वर
- सिनामंगल
- गौशाला
- चाबहिल
- नारायणगोपाल चोक
- गोंगबु
- बालाजु
- स्वयम्भू
- कलंकी
- बल्खु
- र बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग

अत्यावश्यक सेवालाई भने छुट: कर्फ्यूको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवतजावतमा सुरक्षाकर्मीहरूबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ।
हालैका दिनमा भइरहेको प्रदर्शन र त्यसले निम्त्याएको सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै शान्ति र सुव्यवस्था कायम गर्न यो कदम चालिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
