काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश लागू

अपराध तथा सुरक्षा

काठमाडौं । काठमाडौंमा सोमबार बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन अनुसार महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।

आदेश अनुसार तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्णतया निषेध गरिएको छ।

कर्फ्यु आदेश काठमाडौं महानगरपालिका चक्रपथ भित्र लागू हुनेछ। यस अन्तर्गत बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण क्षेत्र पर्दछ।

तर आदेश अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारीसाधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन, साथै हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने सूचनामा उल्लेख छ।

उक्त कर्फ्यु आदेशमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हस्ताक्षर रहेको छ।