सात देशका दूतावासद्वारा हिंसात्मक घटनाप्रति दुःख, संयमित हुन आग्रह

समाचार

काठमाडौं, भदौ २३ – नेपालमा आइतबार देखिएका हिंसात्मक घटनाप्रति सात देशका दूतावासहरूले गहिरो दुःख व्यक्त गरेका छन्। काठमाडौंसहितका विभिन्न स्थानमा भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा मानवीय क्षति भएको र कैयौं घाइते भएको घटनाप्रति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संवेदना प्रकट गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “यी घटनाका कारण ज्यान गुमाउने दुखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोप्रति हामी संवेदनशील भएका छौं। पीडित परिवारजन र प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं तथा घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछौं।”

दूतावासहरूले नेपालमा शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रता जस्ता मौलिक अधिकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमै स्वीकार गरिएको सार्वभौमिक अधिकारको रूपमा सम्मान गर्ने बताउँदै आफ्नो दृढ समर्थन दोहोर्याएका छन्। विज्ञप्तिमा भनिएको छ, “हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछौं।”

यस्तै, सबै पक्षलाई संयमित रहन र हिंसात्मक क्रियाकलापबाट टाढा रहन दूतावासहरूले आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।”

यसैबीच, नेपालमा पछिल्ला दिनमा भएका प्रदर्शनहरू उग्र बन्दै गएको र राज्यपक्ष र प्रदर्शनकारीबीच झडपका घटना बढिरहेका अवस्थामा अन्तर्राष्ट्रिय समुदायको यस्तो संयुक्त प्रतिक्रिया आएको हो। कूटनीतिक निकायहरूले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण आन्दोलनलाई समर्थन जनाउँदै राजनीतिक सहमतिको माध्यमबाट समस्या समाधान गर्नुपर्ने सन्देश दिएका छन्।