२५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

बैंक/वित्त

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ्ग प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ्ग प्रणालीमार्फत तरलता तानिरहेको छ ।

केन्द्रीय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्नेछ । यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो तीन बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने उल्लेख गरेको छ । यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँच् र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।