काठमाडौं, नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्। उनले पेश गरेको प्रस्तावमा पार्टीमा कायम ७० वर्षे उमेर हद हटाउनुपर्ने सुझाव समावेश गरिएको छ।
एमाले विधानअनुसार अहिलेसम्म सबै तहका कार्यकारी कमिटीका पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनयन हुन ७० वर्ष ननाघेको हुनुपर्ने प्रावधान थियो। तर, २०८० वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले उक्त व्यवस्थालाई हालका लागि निलम्बन गर्ने निर्णय गरिसकेको थियो।
पौडेलले नेतृत्व चयनमा उमेरभन्दा बढी योग्यता, अनुभव, योगदान र स्वीकार्यतालाई आधार मान्नुपर्ने धारणा प्रस्तुत गरे। उनका अनुसार, ७० वर्षभन्दा कम उमेर भएकाले पनि यी विशेषता नहुने व्यक्तिले नेतृत्व दिन सक्दैन भने, ७० वर्ष नाघेका तर सक्रिय र योग्य व्यक्तिले प्रभावकारी नेतृत्व दिन सक्ने धेरै उदाहरण नेपाल र अन्तर्राष्ट्रिय जगतमा देखिएका छन्।

‘हरेक व्यक्तिको जीवन उमेर र सक्रियता फरक हुन्छ। उमेरका आधारमा योग्य नेतालाई नेतृत्वबाट हटाउनु वा अघि बढ्न नदिनु उचित हुँदैन,’ पौडेलको भनाइ उद्धृत गर्दै विधान संशोधन प्रस्तावमा उल्लेख छ।
त्यसकारण, २०८० वैशाखमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयलाई अनुमोदन गर्दै विधानको धारा ६४ मा रहेको ७० वर्षे उमेर हदको व्यवस्था पूर्णरूपमा खारेज गर्न प्रस्ताव गरिएको छ।
