काठमाडौं । एभरेष्ट बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंक ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भई वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

एभरेष्ट बैंकले गत आर्थिक वर्षमा करिब ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, एक वर्षको अवधिमा बैंकको खुद नाफा ३२.८१ प्रतिशतले वृद्धि भएको हो।
नाफा वृद्धि संगै बैंकको लाभांश क्षमतामा पनि उल्लेखनीय सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा २८.०६ प्रतिशत रहेको लाभांश क्षमता यस वर्ष ३८.२७ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफा ५०.०३ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँमा पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट ९ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ९३ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी आर्जन भएको छ।
समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात (NPL) ०.३३ प्रतिशत बिन्दुले घटेर ०.३८ प्रतिशतमा कायम भएको छ।
