काठमाडौं , नेपाल राष्ट्र बैंकले ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (SIPS)’ जारी गरेको छ। बढ्दो विद्युतीय भुक्तानीलाई व्यवस्थित र सुरक्षित बनाउन केन्द्रीय बैंकले यो फ्रेमवर्क सार्वजनिक गरेको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि भुक्तानी प्रणाली सञ्चालकहरूलाई प्रणालीगत रूपमा महत्त्वपूर्ण प्रणाली (Systemically Important Payment Systems) को रूपमा पहिचान गर्ने व्यवस्था गरिएको थियो। सोही नीति कार्यान्वयनका लागि फ्रेमवर्क ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार, प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरू वित्तीय संरचनाका अत्यावश्यक अवयव हुन्। यस्ता प्रणालीहरूले ठूलो मूल्यका तथा संवेदनशील भुक्तानीहरू समेट्ने भएकाले तिनीहरूको सञ्चालनलाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन फ्रेमवर्क आवश्यक भएको हो।

यस फ्रेमवर्कको मुख्य उद्देश्य प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको पहिचान र नामांकनका लागि स्पष्ट मापदण्ड तय गर्नु हो। साथै, यस्ता प्रणालीहरूलाई नियामक निगरानी र जोखिम व्यवस्थापनको दायरामा ल्याएर वित्तीय प्रणालीमा अवरोध उत्पन्न नहोस् भन्ने सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
