यी जिल्लामा भारी वर्षा,सतर्कता अपनाउन आग्रह

समाचार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका वभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै,आज दिउँसो बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार सूचना जारी गर्दै विभागले बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, चितवनलगायत क्षेत्र, गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, कास्कीलगायत क्षेत्र, कर्णाली  प्रदेशका जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी, डढेलधुरा, कञ्चनपुरलगायत क्षेत्रमा  मध्यमदेखि भारी वर्षा भएको जनाएको हो ।

वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी सुदूरपश्चिम प्रदेशका भूभागमा अझै  मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकाले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।