भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन्। चीनको तियान्जिनमा आयोजित शाङ्घाई सहयोग संगठन (SCO) सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भलाकुसारीपछि मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
सम्मेलनमा भाग लिन शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले हिजो नै राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए। आज भने उनले भारतीय समकक्षीसँग अनौपचारिक भेट गरेका हुन्।
मोदीले ओलीसँग हात मिलाउँदै उभिएको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “भारत–नेपाल सम्बन्ध गहिरो छ।” उक्त भेटमा प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्, जसले मोदीलाई नमस्कार गरेको दृश्य पनि सार्वजनिक तस्बिरमा देखिन्छ।

त्यसपछि मोदीले माल्दिभ्सका राष्ट्रपति, इजिप्टका प्रधानमन्त्री, बेलारुसका राष्ट्रपति, ताजिकिस्तानका राष्ट्रपति लगायतसँग उभिएर भएको भेटका तस्वीर पनि क्रमशः सार्वजनिक गरेका छन्।
