नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले “नेप्से एआई” एपको छायाँमा फैलिँदै गएको एक भयानक डिजिटल फ्रड नेकससको चेतावनी जारी गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । केही दिनअघि, एक प्रयोगकर्ताको बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ एक झट्कामा हरायो—उनको मोबाइलमा एप डाउनलोड , २८ लाख ६१ हजार रुपैयाँ बैंक ब्यालेन्स छुमन्तर!
सीआईबीका अनुसार, यो कुनै सामान्य र पहिलो पटक भएको घटना हैन -पछिल्ला दिनहरुमा फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालमा “शेयर बजारको गहिरो विश्लेषण” भन्दै मन लोभ्याउने विज्ञापन देखाएर मानिसलाई लोभ्याउने, अनि “नेप्से एआई” जस्तो एप डाउनलोड गराउने प्रवृत्ति तीव्र गतिमा फैलिएको छ।
एकपटक एप इन्स्टल भयो भने , प्रयोगकर्ताले पासवर्ड तथा संवेदनशील जानकारी इन्टर गर्ने बित्तिकै— डिजिटल संसारमा उसको हरेक डिटेल चुपचाप कब्जा हुन् जान्छ । त्यसपछि, अनलाइन बैंक खाताबाट रकम उडाउने काम सुरु हुन्छ।
सीआईबीको चेतावनी:
टू-फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्नुस् (SMS मार्फत भए अझ सुरक्षित)।
आफ्नो पासवर्ड समय समयमा परिवर्तन गर्नुहोस्।
Nepse AI वा कुनै पनि अपरिचित एप/विज्ञापन लिंक डाउनलोड नगर्नुहोस्।
मोबाइल वा कम्प्युटरमा ‘AnyDesk’, ‘TeamViewer’ जस्ता रिमोट एक्सेस कसैलाई नदिनुहोस्।
एप डाउनलोड गर्दा सधैं Google Play Store वा Apple App Store जस्ता आधिकारिक स्रोत मात्र रोज्नुहोस्।
यो डिजिटल ठगीको खेल रोक्ने शक्ति तपाईंको सजगता मात्र हो—किनकि एक गलत क्लिकले तपाईंको सम्पूर्ण मेहनतको कमाइ रातारात लुटिन सक्छ।


