NMB Bank Surges with 46% Profit Rise – प्रतिसेयर आम्दानी १७.८७ , लाभांश क्षमता १०.४०%

बैंक/वित्त

काठमाडौं, एनएमबि बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले अधिक हो।

नाफा उल्लेख्य रूपमा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) मा पनि उल्लेखनीय सुधार आएको छ। २०८१ असार मसान्तसम्म १२ रुपैयाँ २२ पैसा रहेको ईपीएस २०८२ असारमा १७ रुपैयाँ ८७ पैसा पुगेको छ।

बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँका आधारमा लाभांश क्षमता १०.४० प्रतिशत देखिएको छ। यसअनुसार, ३ अर्ब २८ करोड रुपैयाँमध्ये करिब २ अर्ब ३३ लाख रुपैयाँमात्र लाभांशका रूपमा वितरण गर्न सकिने अनुमान छ।

२०८२ असार मसान्तसम्म एनएमबिको निष्क्रिय कर्जा (NPL) थोरै बढेर ३.७२ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा १.३७ प्रतिशत रहेको छ। बेसरेट ८.४२ प्रतिशतबाट घटेर ६.२२ प्रतिशतमा पुगेको छ भने ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट ३.८२ प्रतिशतमा झरेको छ।

समीक्षा वर्षमा बैंकले ८ अर्ब २ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब १८ करोड १७ लाख रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको छ। यस अवधिमा बैंकले ९५ करोड ८१ लाख रुपैयाँ नोक्सानी व्यवस्था (प्रोभिजनिङ) समेत गरेको छ।