काठमाडौं । कुमारी बैंक लिमिटेडले ४५ हजार ८२९ प्रतिशतले खुद नाफा वृद्धि गर्दै गत आर्थिक वर्षमा झस्काउने वित्तीय प्रदर्शन देखाएको छ । खुद नाफा ४६ लाखबाट उफ्रिँदै २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको भारी गिरावटले नाफा बढाए पनि बैंक अझै वितरणयोग्य लाभांश दिन सक्ने अवस्थामा छैन । रिटेन्ड अर्निङ २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक रहेको अवस्थामा शेयरधनीहरूका लागि चम्किएको नाफा पनि लाभांशमा रूपान्तरण नहुने देखिन्छ ।
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षमा उच्चदरले नाफा कमाएको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ४६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ ।

बैंकले ११ अर्ब ५५ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९५ प्रतिशतले बढी हो । यस्तै बैंकले २ अर्ब ६७ करोड रुपैयाँ बराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । अघिल्लो आवमा २ अर्ब ९ करोड खुद शुल्क तथा कमिशन आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ११ अर्ब ३३ करोड र सञ्चालन मुनाफा ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष २ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ । बैंकको नाफा बढेको भएपनि वितरणयोग्य नाफा भने अझै २ अर्ब ७९ करोड रुपैयाँ नकारात्मक रहेको छ । बैंकको खराब कर्जा पनि ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशतमा पुगेको छ ।
बैंकले ब्याजदरको अन्तर (स्प्रेड) ३.५९ प्रतिशत कायम गरेको छ । कोषको लागत ६.७४ प्रतिशतबाट घट्दै ४.७४ प्रतिशतमा झरेको छ । आधार दर पनि घटेर ६.४४ प्रतिशतमा सीमित भएको छ । बैंकको प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा कायम भएको छ ।
कर्जा नोक्सानी व्यवस्थापन बापतको रकम (इम्पेरमेन्ट चार्ज) मा भारी गिरावट आएपछि बैंकको नाफा उच्चदरले बढेको हो । यो शीर्षकमा अघिल्लो वर्ष ६ अर्ब ८४ करोड रुपैयाँ राखिएकोमा जुन घटेर २ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ । जसले सञ्चालन नाफालाई उल्लेखनीय रुपमा बढ्दा समग्र नाफा बढेको हो ।
