“पुलिस को बुलाओ प्लीज”: चोरीको आरोपमा बरेलीमा भीडले नेपाली मूलकी महिलामाथि आक्रमण, भिडियो भाइरल

अन्तराष्ट्रिय अपराध तथा सुरक्षा

‘द फ्री प्रेस जर्नल’ मा प्रकाशित समाचार अनुसार, उत्तर प्रदेशको बरेलीमा एक नेपाली मूलकी महिलालाई चोरीको आशंकामा भीडले बर्बरतापूर्वक कुटपिट गरेको छ। सुष्मिता (काजल) नाम गरेकी ती महिला नोएडामा काम गर्छिन् र साथीहरूलाई भेट्न बरेली गएकी थिइन्।

घटना शुक्रबार राति १:३० बजे भएको थियो। सुष्मिता छतमा फोनमा कुरा गरिरहेका बेला स्थानीयले उनलाई चोर भन्दै हल्ला गर्न थाले। डराएर उनी छतबाट हाम फाल्दा उनको खुट्टा भाँचियो। त्यसपछि भीडले उनलाई समातेर एउटा खम्बामा बाँधेर कुटपिट गर्‍यो।

कुटपिटका क्रममा सुष्मिताले “पुलिस को बुलाओ प्लीज” भन्दै बारम्बार प्रहरीलाई बोलाउन आग्रह गरेकी थिइन्। यस आक्रमणबाट उनको खुट्टा भाँचिएको, दाँत फुटेको र लुगा च्यातिएको थियो। उनको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ।

प्रहरीलाई खबर भएपछि उनलाई उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। यस घटनामा प्रहरीले मुद्दा दर्ता गरी चार जनालाई पक्राउ गरिसकेको छ र अन्य संलग्नको खोजी भइरहेको छ।