एजेंसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग तेलसम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको घोषणा गर्दै भारतलाई अप्रत्यक्ष सन्देश दिएका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिकाले पाकिस्तानका विशाल तेल भण्डारहरुको विकासमा सघाउने बताउँदै भविष्यमा पाकिस्तानले भारतलाई नै तेल बेच्न सक्ने दाबी समेत गरे ।
उनले X लेखेका छन , “हामीले पाकिस्तानसँग सम्झौता गरेका छौं, जसअनुसार अमेरिका र पाकिस्तान मिलेर त्यहाँका तेल भण्डार विकास गर्नेछन् । साझेदारीका लागि एउटा तेल कम्पनी छानिनेछ । सायद एक दिन पाकिस्तानले भारतलाई तेल बेच्नेछ ।”


ट्रम्पको यो अभिव्यक्ति त्यतिबेला आएको हो, जतिबेला केही घण्टाअघि उनले इरान बाट भारत भित्रिने केही सामानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।
यता, अमेरिकी विदेश मन्त्रालयले इरानसँग सम्बन्धित रसायन तथा पेट्रोकेमिकल उत्पादन खरिद गर्ने २४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ, जसमा ६ भारतीय कम्पनी पनि परेका छन् । सूचीमा चीनका ७, यूएईका ६, हङकङका ३ र तुर्की तथा रसियाका एक–एक कम्पनी छन् ।
विदेश मन्त्रालयका अनुसार यी कम्पनीहरुले २०२४ मा १००० करोड रुपैयाँभन्दा बढी मूल्यका इरानी उत्पादन यूएईमार्फत खरिद गरेका थिए, जुन इरानको न्यूक्लियर कार्यक्रम र आतङ्कवादी गतिविधिमा खर्च भइरहेको दाबी गरिएको छ ।
इरानमाथि सन् २०१८ देखि अमेरिकी प्रतिबन्ध लागू छ र यो उल्लंघन भएको अमेरिकी धारणा छ ।
यसै सन्दर्भमा ट्रम्पको पाकिस्तानप्रति बढ्दो ‘माया’ र भारतप्रति कडाइलाई विश्लेषकहरूले भूराजनीतिक प्राथमिकतामा परिवर्तनको संकेत मानेका छन् ।
