नेपाल–भारत सीमावर्ती पर्यटनको नयाँ केन्द्र: ‘इलामको मुस्ताङ’ जौबारी

पर्यटन

इलाम — हिमाली चुचुरासँग कुम जोड्ने, सुर्योदयको अद्भुत दृश्यबाट स्वर्गीय आनन्द दिने इलामको जौबारी पछिल्लो समय नेपाल, भारत र तेस्रो मुलुकका पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

कोशी प्रदेश सरकारले जौबारी पुग्ने सडकको स्तरउन्नति गरेसँगै पर्यटन पूर्वाधार निर्माणमा जोड दिएको छ। परिणामस्वरूप, सदरमुकाम इलाम बजारबाट ३० किलोमिटर उत्तरतर्फको यात्रापछि पुगिने यो हिमाली व्यापारिक तथा पर्यटकीय केन्द्रमा अब देश-विदेशका पर्यटकको ओहोरदोहोर बाक्लिएको छ।

जौबारी सन्दकपुर गाउँपालिका–५ र माईजोगमाई गाउँपालिका–२ मा अवस्थित छ। स्थानीयवासीहरूका अनुसार, जौबारीलाई ‘इलामको मुस्ताङ’ पनि भनिन्छ। यहाँको प्राकृतिक सौन्दर्य, हिमालको टल्किने दृश्य, लालिगुराँसका फूल र हिमाली छटाले पर्यटकलाई मोहित पार्छ।

पर्यटकहरू विशेषगरी वर्षायामको झरि, हुस्सु तथा हिउँदको बाक्लो हिमपात अनुभव गर्न आउने गरेका छन्। भारतको दार्जिलिङबाट मानेभञ्ज्याङ हुँदै यहाँ आउने पर्यटकहरूको संख्या पनि उल्लेख्य छ। “दार्जिलिङबाट आउने पर्यटक यहाँको दृश्य, शान्त वातावरण र हिउँ खेल्ने अनुभवका लागि आउँछन्,” स्थानीय मानबहादुर गुरुङले बताउनुभयो।

जिल्लाको प्रमुख हिमाली गन्तव्य सन्दकपुरतर्फ जाने बाटोमै पर्ने जौबारीमा हाल नेपालका तराई क्षेत्रदेखि भारतीय सीमा क्षेत्रसम्मका पर्यटकहरू बास बस्ने गरेका छन्। पर्यटकहरूको चाप बढेसँगै माईजोगमाई गाउँपालिका अध्यक्ष कुसबहादुर थेवेले जौबारीमा थप पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।

जौबारीमा पाइने दर्जनौँ प्रजातिका जडीबुटी, असंख्य चरा, चित्रैचित्राले बनेका काठका घरहरू तथा शेर्पा, तामाङ, राई र गुरुङ समुदायको परम्परागत संस्कृति यहाँको अतिरिक्त आकर्षण हुन्। विदेशी पर्यटकहरू यहाँ नेपाली गाउँ जीवनको अवलोकन गर्दै संस्कृति, रहनसहन र प्राकृतिक सुन्दरता नजिकबाट अनुभव गर्न आइपुग्ने गरेका छन्।