“Drunk Dashboard: नेप्से प्रणालीमा त्रुटि, Index 2.61 कि 7.10?”

बजार

काठमाडौं । सेयर बजार सूचकमा सोमबार नेप्सेले गरेको ‘अन्तिम गणना’ त्रुटिपूर्ण देखिएको छ, जसले बजार सहभागीहरूलाई भ्रममा पारेको छ। नयाँ प्रणालीमार्फत अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यलाई आधार मानेर परिसूचक गणना गर्ने भनिएको भए पनि, प्राविधिक गल्तीले न्यूनतम मूल्यलाई आधार बनाउँदा सूचक घटेको देखिएको हो।

तर पछिल्लो अद्यावधिक अनुसार, नेप्से परिसूचक ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा पुगेको देखिन्छ, जुन पहिलोमा देखिएको २.०७ अंकको गिरावटभन्दा बिल्कुल फरक छ। नेप्सेले वेबसाइटमार्फत प्राविधिक कारणले कारोबारपश्चातको परिसूचक गणनामा फरक देखिएको स्वीकार गर्दै औपचारिक रूपमा क्षमा मागेको छ।

त्यति मात्रै होइन, टीएमएस प्रणालीमा अझै नेप्से सूचक २.६१ अंक मात्र बढेको देखिन्छ, जसले अझ भ्रम बढाएको छ। एकै दिन, एकै बजार तर तीन फरक अङ्क! — यस्ता त्रुटिहरूले बजारमा पारदर्शिता र विश्वासको गम्भीर प्रश्न उठाएको छ।

विशेषगरी उच्च कारोबार भएका कम्पनीहरूको अन्तिम मूल्य निर्धारणमा त्रुटिपूर्ण रूपमा न्यूनतम मूल्य लागू हुँदा धेरै कम्पनीहरूको सेयर मूल्य कृत्रिम रूपमा घटेको देखिएको छ, जसले इन्डेक्सलाई झनै तल तान्यो। यसले बजार सूचक एकछिन बढ्ने, अर्काेछिन घट्ने — ‘डाटा डान्स’ जस्तो अवस्था ल्याएको हो।