कथा सुरु हुन्छ, चिसापानीबाट ।
‘सिट खाली हो क्या ?, पुड्डकी सर्दा ।’ मेरो छेउमा खाली सिट देखेर उनले मलाई पर सर्न अहए । रातीको ८ बजेको थियो । कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको गाडी सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सीमा चिसापानी पुगेको थियो ।
चिसापानीमा चढेका ति यात्रुसँगै सुर्ति, बिँडी र पसिनाको गन्ध पनि बस चढेको थियो । नव यात्रु झ्यालतिरको सिटमा बस्न गए । झ्यालको सिटमा आफुलाई राखेपछि उनले झ्याल खोले र पिच्च थुके ।
चिसापानीको पुल पार गरेपछि सुरु हुन्छ बर्दिया राष्ट्रिय निकुञ्ज । निकुञ्जभित्र गाडीको गति सुस्त हुन्छ । सुस्त गाडी चल्दा अल्छी लाग्छ । तर, यो अल्छी कटाउने मेसो हुन आईपुगे कालिकोटे दाजै । अर्थात चिसापानीबाट चढेका यात्रु ।

भारतको नैनितालबाट फर्किर्दै गरेका यी कालीकोटे दाजैलाई कोहलपुर पुर्याउने जिम्मा लिएको गाडीले चिसापानीमै अलपत्र पारेको रहेछ ।
कालिकोटमा असारको धान रोपेर नैनिताल मजदुरी गर्न गएका जनक बटाला यसपाली नैनितालबाट छिटै घर फिरे । साउनमा गाउँ छाडेर गएपछि दशैँको समयमा घर आउने उनको वार्षिक रुटिन हो । तर, यस वर्ष उनी दशैँ नलाग्दै घर फिरे ।
नैनितालमा अत्याधिक पानी पर्यो । पानी परेपछि बटालको काम रोकियो । ‘भातै खानु पड्यापछि घरकै भात खानु निको, पैसा पड्याको भात कति खाईसक्नु ।’ बर्दिया राष्ट्रिय निकुञ्जमा सुस्त सुस्त गुडिरहेको गाडीमा जनक बटला गफिन थाले । अथवा भनौ न मैले बटालालाई गफ्याउन हौस्याए ।
कालिकोटको रासकोट नगरपालिका बटालको गाउँ हो । कुनै समय भेडा पालन गर्ने बटालाले आजभोली भेडा पाल्न छाडिसके । जंगल सरकारीकरण र सामुदायीक बनाउन थलिएपछि भेडाका लागि चरन भेटिनै छाड्यो । ‘चरन जति सब्बै सरकारले लैग, भेडाकन क्या ख्वाईकन पाल्नु हो ।’ बटालाले सुर्तिको नयाँ फाँक हाले । अनि सम्झिन थाले भेडा पाल्दाका दिन ।
अछामको रामारोशन, खप्तडदेखि कास्कीको पोखरासम्म बटाला भेडा बेच्न हिडेका छन् । ‘भेडा हुनेबेला त भसक्कै रुप्या कमाई हुँदो छ्यो । ऊनको अलग्गै, भेडाको अलग्गै मोल ।’ बसको सिटमाथि बलिरहेको निलो बत्तिको प्रकाशमा बटालाको मुहार चम्कियो ।
८ वर्ष जति भयो बटालाले भेडा पाल्न छाडेको । भेडाको सम्झौनी बिर्सौनीका नाममा बटालासंग राडी र काम्लो मात्रै छ । त्यही एउटा काम्लो उनले नैनिताल लगेका रहेछन । वनबासाबाट टाँगामा आउँदा पानी पर्यो । काम्लो भिज्यो । भिजेको काम्लोको गन्ध बोराबाहिरै आईरहेको छ । त्यही बोरा उनले सिटमुनी राखेका छन् ।
यसपटक बटाला मात्रै होइन बटालाका साथी पनि नैनितालबाट निराश भएर घर फिर्दैछन । बटालाको मुहारमा सधैँजसो नैनितालबाट फिर्दाको चहक छैन ।
बाख्रा बेचेको ४ हजार रुपैयाँ बोकेर उनी साउनको पहिलो साता उनी नैनितालका लागि कालिकोटबाट निस्केका थिए । नैनितालमा बटाला घर बनाउने मजदुरको काम गर्छन । घर निर्माणमा काम पाएनन भने उनी सडक निर्माण वा ढल सफाईको पनि काम गर्छन । नैनितालमा निर्माण मजदुरलाई साप्ताहिक ज्याला दिने चलन रहेको सुनाए बटालाले ।
यस वर्ष बटालाले नैनितालमा जम्मा १५ दिन काम गर्न सके । घरका तला थप्न नपाईने निएम लगाएसँगै नैनितालमा अब पहिलेको जस्तो सहजै काम पाईन छाडेको छ । नैनितालबासीले घरका तला थप्न नपाएपछि बटाला जस्ता धेरै नेपाली मजदुरले काम पाउन छाडेकाछन् । नैनितालमा बिहारी मजदुरको संख्या पनि उत्तिकै बढ्न थालेको छ । बटाला जस्ता नेपाली मजदुर अब विस्तारै नैनितालबाट विस्थापित हुने संभावना बढेको छ ।
नैनितालमा बटाला ७ सय देखि १ हजार भारतीय रुपैयाँ दैनिक ज्याला आर्जन गर्छन । १५ दिन काम गरेको पैसाले खोली (अस्थाई बसेरा) को भाडा तिरे । खोलीका लागि चाहिने भाँडाकुँडी किने । तिनै भाँडा बोकेको भएर बटालाको भारी ठूलो देखिएको हो । ‘देखिन्या मात्रै ठूलो हो, केही आथ्थिन् । नैनिताला बस्न्याबेला खरिद अर्या भाँडा मात्तै हुन् ।’ बटालाले ठूलो बोराको रहस्य खोले ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र ठाकुरद्धारा पुग्यो बस । आर्मि चेक पोष्टमा यात्रु पिसाब फेर्न उत्रिए । बटाला र म पनि उत्रियौैँ । बटालाले नैनितालको बिँडी अफर गरे । नाईनास्ती नगरिकनै बिँडी सल्काए । बिँडीको तिख्खर धुँवा उडाए । बिँडिको सर्वहारा गन्ध बोकेर गाडी पूर्व पश्चिम राजमार्गमा गुड्यो ।
बर्दिया राष्ट्रिय निकुञ्जका तीनवटै चेकपोष्टमा आर्मिले बटाला र उनका साथीका ठूला गुन्टा खोल्न लगायो । गुन्टामा मैला लुगा र पुराना भाँडा बाहेक अरु केही थिएन ।
नेपाल भारत सीमा नाका गड्डा चौकिमा बटालाले भारतीय प्रहरीलाई १ सय भारतीय रुपैयाँ र एक प्याकटे बिँडी उपहार चढाए । ‘कठै हजुर हामी गरिबकन जाँ पनि लुटिहाल्दा देख्यान । यति दिएन भन्या त, सामान जफत हरिहेल्न्या त ति !’ बटालाले सीमाको दुःख सुनाए ।
बटालासँग कोहलपुरबाट कालिकोट पुग्ने गाडीभाडा समेत छैन । मलेसियाबाट उनको सालोले पठाएको पैसाले उनी कोहलपुरबाट कालिकोटको यात्रा तय गर्नेछन ।
यी सब दुःख एकातिर छन, अर्कोतिर बटालाको गाउँ ठाउँ पनि अब नगरपालिका भएपछि कर तिर्नुपर्ने अर्को दुःख थपिएको छ । ‘नगरपालिका भएछ हजुर,’ उनले जोडे, ‘सम्पत्ति नभएको हामीसँग सम्पत्ति कर लिइयो, २५ हजार रुपैयाँ तिर्नु पर्ने भयो ।’ बटालको सम्पती रुखो पाखो, भैँसी बाँध्ने गोठ र पत्तथरी (ढुंगाले छाएको) घर मात्रै हो ।

सम्पत्ति कर त एउटा कुरा नगरपालिका भएपछि बटालालाई आफ्नै ठाउँ निठुर लाग्न थालेको छ । २०७४ फागुनमा उनको नगरपालिकाले बाटो बनाउन १ करोड १० लाख ५० हजार रुपैयाँ खर्च गरेर डोजर किन्यो ।
नगरपालिकाले डोजर खरिद गर्ने निर्णयको बटाला जस्ता धेरैले विरोध गरेका थिए । तर, जनप्रतिनिधिले डोजर खरिद गरेरै छाडे । रासकोट नगरपालिकाका मेयर काशचिन्द्र बराललाई फोन गरेर डोजरको विषयमा प्रश्न गर्दा उनले गर्वसाथ सुनाए ‘डोजरले हालसम्म २१ किलोमिटर बाटो खनिसकेको छ ।”
बटाला जस्त नैनिताल केन्द्रीत मजदुरको माग थियो, ‘डोजर खरिद गर्ने पैसाले हामिलाई ज्याला देउ बाटो हामी खन्छौ ।’ तर, जनप्रतिनिधि प्रविधिको प्रयोग गरेर द्रुत गतिमा विकास गर्न चाहान्थे । ‘हामी त जाँ गया पनि कामै गन्र्या त हौँ । गाउँमै काम गर्न पायाको भया, यसरी अर्का देश जानु थोडी पड्डो हो ।” बटालाले झ्याल खोलेर पीडा र आक्रोश थुके । पिच्च ! बटाला रोकिएनन, गाडीमा बजेको गीतको आवाज चिर्दै भने ‘हामीकन त ज्या तन्त्र आयापन नैनिताल जान रोक्किन्या केईनाई ।’
नैनीताल जानुको पीडमा मात्र होइन, बटालालाई वर्षेनी सरकारलाई तिर्नु पर्ने करको लागि पैसा कसरी जोहो गर्ने भन्ने पनि डर छ । ‘मैना दिनमा एउटा बाख्रो बिक्री हुँदैन, सरकार डोजर किनेर हामीलाई काम दिँदैन,’ अनि उनले प्रश्न गरे, ‘अनि कसरी तिन्र्या कर ?’ यी दुःख त अहिले थपिएका हुन् बटालाको जीवनमा । उनी त यस्ता कालिकोटे हुन् जसले दुःखका कयौँ सागर तरिसकेकाछन् । बटालका बाबु देवेन्द्र बटाला कांग्रेसका वडा सदस्य थिए । २०५६ सालमा माओवादीले बटालाको परिवारलाई २ लाख रुपैयाँ चन्दा तोक्यो । चन्दा रकम तिर्न नसकेर बटालाका दाइ माओवादी भए ।
२०५८ सालमा बटालाका बाबुको मृत्यु भयो । दाइ नै माओवादीमा भएकाले पनि बटालाले अन्तिम संस्कारपछि काजकिरिया गर्न पाएनन् ।
‘क्रान्तिकारी श्रद्धाञ्जली सभा राखियो,’ उनको लवजमै दुःख मिसिएको थियो, ‘ती माओवादी अहिले सरकारमा छन्, नगरपालिकामा छन् तर मसँग लगेको पाँच वटा राडी र २ वटा कम्बलको पैसा कहिले दिने हुन् ?’
यो पैसा फिर्ता पाए उनी यसपटक श्रीमती र दुई सन्तानलाई नयाँ कपडा किन्थे । तर, उनीसँग पैसा पाउने आश भन्दा ठूलो प्रश्न छ । शंसय छ । ‘कहिले पाइएला र हामीसँग लुटिएको त्यो पैसा ?’
बटालालाई कसैसँग केही दुःख, गुनासो छैन । उनलाई लाग्छ जुनसुकै सत्ता आएपनि गरिबका लागि केही फरक पर्दैन । किनभने, उनलाई भारतमा मजदुरी गर्न जान रोक्नसक्ने सत्ता यो देशमा कहिल्यै थिएन र आउने पनि छैन ।
गाडी कोहलपुर पुग्यो । उनी झर्न स्टेशन आईपुग्यो । गाडीबाट ओर्लिदा ओर्लिदै सुनाए :
ढल्किग हौसिया बैँस, लालपोत्या किनिहाल
तेरै हो रंगिलो सुवा, निकरी चिनिहाल
