काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी परेको छ। नियुक्तिका क्रममा कानुनी प्रावधान र प्रक्रिया उल्लंघन गरी विषयगत अयोग्य व्यक्तिलाई गभर्नर बनाइएको भन्दै उजुरी दर्ता भएको हो।
उजुरीमा उल्लेख भएअनुसार, गभर्नर पौडेलले पेश गरेको शैक्षिक योग्यता — स्नातकमा सफ्टवेयर इन्जिनियरिङ, स्नातकोत्तर र विद्यावारिधि (PhD) दुवै ‘रिसोर्स एग्रिकल्चर’ मा — राष्ट्र बैंक ऐनअनुसार गभर्नरका लागि अपेक्षित विषयगत विज्ञता र योग्यता पुष्टि गर्न नसक्ने दाबी गरिएको छ।
“अर्थतन्त्रको संवेदनशील निकायको नेतृत्वमा विषयगत अयोग्य व्यक्ति आउँदा समग्र अर्थतन्त्र नै जोखिममा पर्ने सम्भावना रहन्छ,” उजुरीमा भनिएको छ।

राष्ट्र बैंक ऐन, २०५८ को उपदफा ३ अनुसार गठित सिफारिस समितिले गभर्नर नियुक्तिका लागि ‘आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन वा वाणिज्य कानुन’ सम्बन्धी क्षेत्रमा स्नातकोत्तर गरेका व्यक्तिलाई योग्य ठहर गर्नुपर्ने व्यवस्था गरेको छ। उजुरीमा पौडेलमा यस्तो योग्यता नदेखिएको भनिएको छ।
त्यस्तै, गभर्नरविरुद्धको उजुरीमा उनी नेपाली काँग्रेसको सक्रिय सदस्य रहेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा प्रमुख लगानीकर्ता रहेको, राष्ट्र बैंकलाई नै राजनीतिक प्रयोगमा लगिएको आरोप पनि उल्लेख छ। साथै, पौडेलले हाल नामसामु ‘प्रा.डा.’ लेख्न थालेको तर सो उपाधिको वैधानिकता र प्रमाणप्रति समेत शंका गरिएको छ।
