काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारका सार्वजनिक पदमा रहेका कोही पनि कानूनी दायराभन्दा माथि नरहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले कहीँ कतै आर्थिक अनियमितता देखिए त्यसमा कारबाही हुने बताए। ‘भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पमा हामी दृढ र प्रतिबद्ध छौं,’ उनले भने।
प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूको प्रवृत्ति नै अनर्गल आरोप लगाउने भएको भन्दै आलोचना गरे। ‘पशुपतिमा सुन भनेर पित्तल चढायो भन्दै हल्ला फैलाउने त्यस्तै मानिसहरू अहिले पनि छानबिन होस् भनेर कराउँछन्,’ उनले भने, ‘त्यस्ता ह्याबिट भएका मानिसहरूतिर धेरै जान्न चाहन्नँ, चित्त पनि दुखाउँदिनँ।’

गम्भीर प्रश्न उठेमा छानबिन हुने उनले बताए तर सामाजिक सञ्जालको स्ट्याटस वा हल्लाको आधारमा कारबाही नहुने स्पष्ट पारे।
