नयाँ दिल्ली । भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्य समस्यालाई कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेअनुसार उनले सोमबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पत्र बुझाएका हुन्।
७५ वर्षीय धनखडलाई सन् २०२२ मा सत्तारूढ एनडीए गठबन्धनले उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाएको थियो। उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, “स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सकीय सल्लाहको पालना गर्दै संविधानको धारा ६७(क) बमोजिम तत्काल लागू हुने गरी म भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिन्छु।”
धनखडको राजीनामापछि नयाँ उपराष्ट्रपतिको चयन प्रक्रिया छिट्टै सुरु हुने अनुमान गरिएको छ।

