“घुस प्रकरणमा नाम जोडिएपछि गुप्ताको राजीनामा, निष्पक्ष छानबिनको माग”

राजनीति

काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिँदै आफू निर्दोष रहेको दाबी गरेका छन्। राजीनामा दिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले भावुक शैलीमा लेखेका छन्— “कहिले काँही नखाएको विष पनि लाग्दो रहेछ।”

गुप्ताले आफ्नो नाम हालैको घुस प्रकरणसँग जोडिँदै व्यापक प्रचारमा आएको उल्लेख गर्दै, आरोपको निष्पक्ष छानबिन होस् र सत्य तथ्य सार्वजनिक होस् भन्ने उद्देश्यले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको स्पष्ट पारेका छन्।

उनले फेसबुकमा लेखेका छन्:

“बिगत केही दिनदेखि निरन्तर मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको सबैलाई विदितै छ। कहिले काँही नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएको छु। अब लागेका आरोपको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग होस् भन्ने सोचले सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु।”

उनले प्रविधिको दुरुपयोगको शिकार अब अरू कोही नबुन् भन्ने अपेक्षा व्यक्त गर्दै आजसम्म विभिन्न रूपले साथ दिने सबैप्रति आभार प्रकट गरेका छन्। साथै, अब फेरि पार्टीद्वारा दिइने जिम्मेवारीलाई इमान्दारिता र निष्ठाका साथ निर्वाह गर्दै जनताको घरदैलोमा पुग्ने प्रण पनि उनले व्यक्त गरेका छन्।