काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।
उनले आगामी आर्थिक बर्ष २०८२÷८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
यसैगरी उपप्रमुख डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छिन् । उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन् ।

उनले भनिन्, ‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं । विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गएको छ । समस्याको समाधान पनि हुँदै गएको छ । आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं ।’

आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए ।
उनले भने, ‘यस सभामा पेस भएको चालु आर्थिक वर्षको ०८१ ०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्ने सन्दर्भमा ०८२ साल असार ३२ गते दिउँसो २ बजे राष्ट्रिय सभा गृहको सभाहलमा बस्नेगरी नगर सभा सञ्चालन ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम आजको बैठक सकिएको घोषणा गर्दछु ।’
