काठमाडौं । हिमालयन बैंक लिमिटेडले सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्दै १ सय रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्रीमा ल्याउने घोषणा गरेको हो । कुल निष्कासन मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको हुनेछ ।
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । यसमध्ये संस्थापक समूहको स्वामित्व ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने सर्वसाधारणको स्वामित्व २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधारणका लागि छुट्याउनुपर्ने कानुनी प्रावधानअनुसार बैंकले यो एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ताका लागि लगानीकर्ताले १ हजार ५७० रुपैयाँ तिर्नुपर्नेछ । आवेदन दिने अन्तिम म्याद साउन ४ गते तोकिएको छ, तर सो अवधिमा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म समयावधि लम्बिने जानकारी दिइएको छ ।
यस एफपीओको निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ नेपालले हिमालयन बैंकलाई ‘केयर एनपी ट्रिपल बी’ इस्युअर रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व बहन क्षमतामा ‘मध्यम जोखिम’ रहेको संकेत गर्दछ ।
