विष्णुमती खोलामा बगाएको मानिसको उद्धार गर्नेहरूलाई सम्मान तथा पुरस्कार

अपराध तथा सुरक्षा

विष्णुमती खोलाले बगाएको एक महिलाको सकुशल उद्धार गर्ने पाँच जना, जसमा तीन प्रहरी र दुई नागरिक रहेका छन्, आज सम्मान तथा पुरस्कारले विभूषित भएका छन्। गत बुधबार, २०८२ असार ११ गते राति करिब १०:१० बजे काठमाडौंको टोखा नगरपालिका–६, ग्राण्डी अस्पताल पछाडि बा.प्र. ०१-०३१ च ६१४१ नम्बरको प्राईभेट कार अचानक खोलामा खसेको थियो। गाडी चालक अंकुश सिंह भने तत्कालै खोला किनारमा हाम फालेर सकुशल बाहिर निस्किन सफल भएका थिए।

तर, गाडीभित्र सवार काठमाडौं, टोखाकी भावना ओलीलाई उर्लदो खोलाले बगाउन थालेको थियो। तत्कालै खटिएको प्रहरी टोली र घटनास्थलमा रहेका नागरिकहरू खोलाभित्र पसेर साहसिक रूपमा भावना ओलीलाई सकुशल उद्धार गर्न सफल भएका थिए।

आज, बिहीबार, २०८२ असार १२ गते, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (प्र.व.उ.) विश्व अधिकारीले ती पाँच जना नायकहरूलाई पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

सम्मान कार्यक्रममा प्र.व.उ. अधिकारीले विपद्को समय अत्यन्त कठोर हुने र एउटा जीवन बचाउनु मानवीय सफलताको ठूलो उदाहरण भएको बताएका थिए । प्र.व.उ. अधिकारीले यो उद्धार कार्य समुदाय–प्रहरी साझेदारीको उत्कृष्ट उदाहरण भएको उल्लेख गरेका थिए । उनले एउटा डोरीको भरमा आफ्नो जीवन जोखिममा राखेर मानव ज्यान र सवारी साधनको उद्धार गर्ने समस्त उद्धारकर्ताहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

सम्मानित तथा पुरस्कृत भएका उद्धारकर्ताहरू:

साहसिक कार्यका लागि सम्मानित तथा पुरस्कृत भएका व्यक्तिहरू निम्न रहेका छन्:

१. प्रहरी प्रभाग टोखामा कार्यरत प्रहरी हवल्दार उमेश कुमार लोहोनी

२. प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक हवल्दार समिर बि.क.

३. प्रहरी प्रभाग टोखामा कार्यरत प्रहरी जवान सुमन थापा

४. जिल्ला लम्जुङ घर भई जिल्ला काठमाडौं, टोखा बस्ने अर्जुन गुरुङ (१९ वर्ष)

५. ऐ.ऐ. बस्ने राजु तामाङ (२९ वर्ष)