तेहरानस्थित इरानको आणविक ऊर्जा संगठन (AEOI) ले हालै देशका प्रमुख आणविक स्थलहरूमा भएको आक्रमणपछि एक औपचारिक वक्तव्य जारी गर्दै त्यसको कडा भर्त्सना गरेको छ।
वक्तव्यमा उल्लेख गरिएको छ, “इस्लामी इरानका शत्रुहरूले विगत केही दिनयता गरेका क्रुर आक्रमणको क्रमलाई निरन्तरता दिँदै आज बिहान फोर्दो, नातान्ज र इस्फहानस्थित आणविक प्रतिष्ठानहरूमा हमला गरेका छन्। यो कार्य अन्तर्राष्ट्रिय कानून, विशेषतः आणविक अप्रसार सन्धि (NPT) को प्रतिकूल छ।”
इरानी संगठनले आक्रमणमा अन्तर्राष्ट्रिय परमाणु उर्जा संस्था (IAEA) को मौनता र सम्भावित सहकार्यप्रति पनि चिन्ता व्यक्त गर्दै भनेको छ, “यो कदम अन्तर्राष्ट्रिय कानुनविपरीत मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको उपेक्षा र IAEA को समेत सहयोगमा भएको दुर्भाग्यपूर्ण कार्य हो।”

वक्तव्यमा थप भनिएको छ कि अमेरिकी राष्ट्रपति स्वयंले यी साइटहरूमा गरिएको आक्रमणको जिम्मेवारी लिएका छन्। यी स्थलहरू अन्तर्राष्ट्रिय निगरानी अन्तर्गत IAEA र NPT सन्धिअनुसार निरन्तर अनुगमनमा छन्।
इरानले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ कि यो गैरकानुनी आक्रमणको विरोध गरियोस् र इरानका न्यायसंगत हकको साथ दिइयोस्।
स्रोत: तेहरान टाइम्स
