NBA Met IMF: कर्जा सुस्ततादेखि पूँजीगत खर्चसम्म छलफल

अर्थ समाचार

काठमाडौं । नेपाल बैङ्कर्स संघ (NBA) ले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का मिशन प्रमुख डा. सरवत जहाँको नेतृत्वमा आएको टोली बिच औपचारिक बैठक सम्पन्न भएको छ। सो बैठकमा नेपालका लागि IMF का आवासीय प्रतिनिधि प्रणव गुप्तासहितका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

IMF टोली नेपालमा विस्तारित ऋण सुविधा (Extended Credit Facility – ECF) अन्तर्गत छैटौं समीक्षा भ्रमणका क्रममा रहेको हो। बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, वित्तीय क्षेत्रको प्रवृत्ति, आर्थिक वृद्धिको सम्भावना, कर्जा पोर्टफोलियोको समीक्षादेखि लिएर नियामकीय परिवर्तन, चुनौतीहरू लगायतका विषयमा व्यापक छलफल भएको थियो।

बैठकका क्रममा बैङ्कर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी, कार्यकारिणी सल्लाहकार अशोक एस.जे.बी. राणा र प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सहभागी थिए। नेपाल बैङ्कर्स संघले नेपालको समग्र आर्थिक परिवेशको विस्तृत विश्लेषण प्रस्तुत गरेको जनाइएको छ।
छलफलका प्रमुख बुँदाहरूमा कर्जाको विस्तारमा देखिएको स्थायी सुस्तता, ऋणको ब्याजदरमा भएको गिरावट सहित, उद्यमशीलतामा देखिएको न्यून आत्मविश्वास, आर्थिक गतिशीलता बढाउन सरकारको पूँजीगत खर्च ब्रिधि र हस्तक्षेपको आवश्यकता, वित्तीय क्षेत्रको विस्तारका सम्भावनालगायतका विषय समेटिएका थिए।

बैठकमा नेपालको आर्थिक क्षेत्रमा क्रमशः सुधारको संकेत देखिन थालेको र बैंकिङ क्षेत्र आर्थिक पुनरुत्थानमा तयार तथा सक्षम रहेको विषयमा आशा व्यक्त गरिएको नेपाल बैङ्कर्स संघले जनाएको छ।