परम्परा रोकियो, जीविका हरायो
चितवनको माडी नगरपालिका–१ स्थित बनकट्टा गाउँका बोटे समुदायले आफ्नो अस्तित्व नै संकटमा परेको गुनासो गरेका छन्। नदीमा माछा मार्न रोक लगाएपछि वैकल्पिक जीविकाको पहुँच नपाएको समुदायले बाँच्नै मुस्किल भएको भन्दै आवाज उठाएका छन्।
यसैबीच, चितवनमा जेठ १२ देखि सुरु भएको पाँच दिने ‘अन्तर्राष्ट्रिय आदिवासी जनजाति विधिमा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक कार्यशाला’ मा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला टोलीले माडी पुगेर बोटे समुदायको स्थलगत अवलोकन गरेको छ।


बोटे समुदायकी माइली बोटेले भनिन्, “न खेत छ, न जागिर, माछा मार्न पनि पाइँदैन, अब कसरी बाँच्ने?”
सदियौँदेखि माछा मार्ने, डुङ्गा तार्ने र नदीसँग जीवन बाँड्दै आएका बोटे समुदायका लागि हालको अवस्था गम्भीर संकटको संकेत हो। चन्द्रपुरीकी नुमा बोटे भन्छिन्, “हामी नदीमै हुर्कियौँ, नदीमै बाँच्यौँ, अब त्यही नदी हामीबाट खोसिएको छ।”

टोलीका सदस्यहरूले समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सरकारी सेवामा पहुँचबारे जानकारी लिएका थिए।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेलले भने, “देशभरकै आदिवासी जनजाति समुदाय खाद्य संकटतर्फ उन्मुख छन्। बोटे समुदाय पनि यही संकटमा परेका हुन्।”
रैथाने खानाको संकट : ‘बोटेगाउँ’ प्रतिनिधि हो, अपवाद होइन

खाद्य तथा कृषि संगठन (FAO) नेपालका राज हुमागाईंले भने, “बजारमा पाइने प्याकेट खाना खाँदैमा हाम्रा बालबालिकाले आफ्नो संस्कार बिर्संदै छन्। स्कुलमै रैथाने खाजा खुवाउन सकियो भने परम्परा जोगिन सक्छ।”
उनले उदाहरण दिँदै भने, “अहिले स्कुलमा हलुवा खुवाउँछन्, अनि बालबालिकाले घरको ढिँडो वा सिस्नोको तरकारी खान रुचाउँदैनन्।”
FAO मुख्यालयका योन फर्नाण्डेजले बोटेगाउँलाई ‘नेपालका हजारौँ संकटग्रस्त समुदायको प्रतिनिधि’ भन्दै सरकार र विकास साझेदारलाई तत्काल ध्यान दिन आग्रह गरे। “यो केवल अवलोकनको विषय होइन, सरकारी उत्तरदायित्वको परीक्षण हो,” उनले भने।
पहिलोपटक नेपालमै यस्तो कार्यशाला

कार्यशाला तालिममा नेपालका सातै प्रदेशका ३० जिल्लाबाट ५५ जना सहभागी छन्। भारत, ब्राजिल, इक्वेडर, स्पेन, फ्रान्सलगायत आठ देशका विज्ञ तथा प्रशिक्षक सहभागी छन्।
कार्यशालाको उद्देश्य आदिवासी जनजातिको रैथाने ज्ञानमा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक अभ्यास स्थापना गर्नु रहेको आयोजकले जनाएका छन्।
बोटे समुदायको अवस्था अहिले जीविकाभन्दा पनि गहिरो स्तरमा, पहिचान र सम्मानको संकट हो।
यदि यस्ता समुदायहरूको परम्परागत सीप, ज्ञान र जीवनशैलीलाई राज्यले संरक्षण गर्न नसके, नेपालले आफ्नै समृद्ध सांस्कृतिक सम्पदा गुमाउने खतरा छ।
