एजेन्सी-भारतको सिक्योरिटिज एण्ड एक्सचेञ्ज बोर्ड (SEBI) ले बलिउडदेखि युट्युबसम्म झूटा र भ्रामक जानकारी फैलाउनेहरूमाथि कडा कारबाही थालेको छ। यसै क्रममा ‘मुन्नाभाइ एमबीबीएस’ जस्ता फिल्महरूमा काम गरिसकेका अभिनेता अरशद वारसी र उनकी पत्नी मारीया गोरेट सेबीको निशानामा परेका छन्। उनीहरू सहित ५७ जना व्यक्तिहरूमाथि सेयर बजारमा हेराफेरी (म्यानिपुलेसन) गरेको आरोपमा कारबाही गरिएको हो।
सेबीले गरेको अनुसन्धान अनुसार, साधना ब्रॉडकास्ट लिमिटेड (SBL) नामक कम्पनीको सेयरमा “पम्प एन्ड डम्प स्किम” अन्तर्गत योजनाबद्ध तरिकाले हेराफेरी गरिएको थियो। यसमा संलग्न व्यक्तिहरूले पहिले कम मूल्य भएका सेयरहरू किने, त्यसपछि युट्युब च्यानलमार्फत भ्रामक सूचना फैलाएर ती सेयरको मूल्य कृत्रिम रूपमै बढाए र अन्ततः ती सेयर अत्याधिक मूल्यमा बिक्री गरी ठूलो मुनाफा कमाए।
५ वर्ष प्रतिबन्ध र जरिवाना


सेबीले अरशद वारसी र उनकी पत्नी मारीया गोरेटलाई पाँच वर्षका लागि सेयर बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ। साथै, दुवै जनालाई ५–५ लाख रुपैयाँ भारतीय रुपैयाँ जरिवाना पनि लगाइएको छ। यसैगरी, साधना ब्रॉडकास्टका प्रमोटरहरू सहित ५७ जनामाथि ५ लाखदेखि ५ करोड रुपैयाँसम्मको जरिवाना तोकिएको छ।
सन् २०२३ मा पनि सेबीले यो प्रकरणमा प्रारम्भिक कारबाही गर्दै अरशद र अन्यमाथि प्रतिबन्ध लगाएको थियो। त्यतिबेला अरशद वारसीले २९.४३ लाख रुपैयाँ र मारीयाले ३७.५६ लाख रुपैयाँ मुनाफा कमाएको आरोप लागेको थियो। अब २०२५ मेमा सेबीले नयाँ शो-कज नोटिस जारी गर्दै अरशदको मुनाफा ४१.७ लाख र मारीयाको मुनाफा ५०.३५ लाख रुपैयाँ भएको ठहर गरेको छ।
सेबीको अनुसन्धान अनुसार, यो सम्पूर्ण योजनाको मुख्य योजनाकार गौरव गुप्ता, राकेशकुमार गुप्ता र मनीष मिश्र थिए। उनीहरूले योजनाबद्ध रूपमा सेयर हेराफेरीको योजना बनाएर अरू व्यक्तिहरूलाई पनि यसमा सामेल गराएका थिए।
सन् २०२३ मा सेबीले कारबाही सुरु गरेपछि अरशद वारसीले प्रतिक्रिया दिँदै भनेका थिये , “म सेयर बजारको गतिविधिबारे अनभिज्ञ छु। म बिरुद्ध लगाइएका सबै आरोपहरू निराधार छन्।” यद्यपि, यो स्पष्टीकरणपछि पनि सेबीको अनुसन्धान जारी रह्यो र अब आएर उनमाथि थप कडा कारबाही गरिएको छ।
