आज मे डे:देशभर सार्वजनिक बिदा

विविध समाचार

आज मे १, अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ। श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने, उनीहरूको पेसागत मर्यादा र सम्मानलाई उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस विश्वभर मनाइन्छ।

सन् १८८६ को मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम’ भन्ने नारा सहित सुरु गरिएको ऐतिहासिक श्रमिक आन्दोलनको स्मरणमा यो दिवस मनाइँदै आएको हो। सो आन्दोलनका क्रममा हेय मार्केटमा भएको बम विस्फोट र प्रहरीले चलाएको गोलीबाट सातजना मजदुरको ज्यान गएको थियो। त्यस आन्दोलनले अन्ततः श्रमिक अधिकारको सुनिश्चिततामा महत्वपूर्ण मोड ल्याएको थियो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्व श्रमिक सङ्गठन तथा श्रमिक नेताहरूको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष यो दिवस श्रमिक चेतना र अधिकार स्थापनाको दिवसका रूपमा मनाइन्छ।

नेपालमा भने पहिलो पटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले मे दिवस मनाएको थियो। पञ्चायती शासनको विरोधस्वरूप सुरु भएको श्रमिक आन्दोलनले विसं २००३ मा विराटनगरमा सफलता प्राप्त गरेपछि र विसं २००७ को राजनीतिक परिवर्तनपश्चात् यस दिवसलाई संस्थागत गरियो। राजनीतिक रूपान्तरणपछि विसं २०४६ देखि यस दिन सार्वजनिक बिदा दिन थालिएको हो।

नेपालमा यस वर्ष पनि विभिन्न मजदुर संगठनहरूले र्‍याली, सभा तथा श्रमिक अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै दिवस मनाइरहेका छन्। नेपाल ट्रेड युनियन महासंघ (जिएफटीयु) लगायतका श्रमिक संगठनहरू दिवसको ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै श्रमिक हकहितको माग प्रस्तुत गरिरहेका छन्।