कूटनीतिक मोर्चामा पाकिस्तान : कश्मीर, पानी र शान्तिको मुद्दा

अन्तराष्ट्रिय समाचार

एजेन्सी : पाकिस्तानका परराष्ट्र सचिव अम्ना बालोचले इस्लामाबादमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरूलाई भारतीय अधीनस्थ जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछिको बिकसित अवस्थाबारे जानकारी गराएकी छन्।

परराष्ट्र सचिवले राष्ट्रिय सुरक्षा समितिको बैठकका निष्कर्षहरू साझा गर्दै भारतको पाकिस्तानविरुद्ध चलाइएको ‘भ्रामक प्रचार अभियान’लाई खारेज गरिन्। उनले यस किसिमका प्रचार–प्रसारले क्षेत्रीय शान्ति र स्थायित्वमा बाधा पु-याउने चेतावनी दिइन्।

उनले पाकिस्तानले सधैं आतंकवादका सबै प्रकार र स्वरूपहरूलाई अस्वीकार गर्दै आएको बताइन् र भारतले तनाव चर्काउने प्रयास नगर्न आग्रह गरिन्। साथै, उनले कुनैपनि “दुष्प्रयास”को प्रतिरोध गर्न पाकिस्तान तयार रहेको पुनः स्पष्ट पारिन्।

पानी रोक्ने प्रयासलाई युद्धको घोषणा ठानिने पाकिस्तानको चेतावनी

पाकिस्तान सरकारले भारतले सिन्धु जल सन्धिलाई स्थगनमा राख्ने घोषणा कडा रूपमा अस्वीकार गरेको छ। प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा इस्लामाबादमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा भारतको हालैको “आक्रामक” गतिविधिमाथि विस्तृत छलफल गरिएको थियो।

बैठकमा राष्ट्रिय सुरक्षा र क्षेत्रीय अवस्थाको समग्र मूल्यांकन गरिँदै भारतीय अधीनस्थ जम्मु–कश्मीरको अनन्तनाग जिल्लाको पहलगाममा भएको आक्रमणपछि उत्पन्न अवस्था केन्द्रमा राखिएको थियो।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “सिन्धु जल सन्धि विश्व बैंकको मध्यस्थतामा भएको एक बाध्यकारी अन्तर्राष्ट्रिय सन्धि हो जसमा एकपक्षीय स्थगनको कुनै व्यवस्था छैन।”