एन आई सी एशिया: बैंक पनि, साथी पनि, आजभोली नाफा घटेर ९१% मुनी 

अर्थ समाचार

काठमाडौं  — चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एशिया बैंकको खुद नाफामा तीव्र गिरावट देखिएको छ। गत वर्षको तुलनामा नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख रुपैयाँमा सीमित भएको बैंकको तेस्रो त्रैमास वित्तीय विवरणले देखाएको छ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफा घट्नुको प्रमुख कारण बैंकको खुद ब्याज आम्दानीमा गिरावट र इम्पेरमेन्ट चार्जमा उल्लेखनीय वृद्धि देखिएको विश्लेषण गरिएको छ।

  • खुद ब्याज आम्दानी २.७६% घटेर ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो।
  • इम्पेरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ।

त्यस्तै, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशतले घटेर ९ अर्ब १९ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा पुगेको छ।

प्रति शेयर आम्दानी घट्दा लगानीकर्तामा निराशा

बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि गम्भीर रूपमा घटेको छ। अघिल्लो वर्षको तुलनामा १५ रुपैयाँ ८९ पैसाको गिरावटसँगै EPS घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ।
यसै अवधिमा बैंकको वितरणयोग्य आम्दानी ऋणात्मक अवस्थामा पुगेको छ, जसले लाभांश वितरण क्षमतामा नकारात्मक असर पार्ने देखिन्छ।

  • वितरणयोग्य आम्दानी: ऋणात्मक ३ अर्ब ५६ करोड रुपैयाँ
  • P/E Ratio: २६६.६४ 
  • प्रतिसेयर नेटवर्थ: १९९ रुपैयाँ ३० पैसा

बैंकको पूँजी संरचना हेर्दा, चुक्ता पूँजी १४ अर्ब ९१ करोड र जगेडा कोष १४ अर्ब ८१ करोड रहेको छ।
चैत मसान्तसम्ममा बैंकले २ खर्ब ९४ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ।

तर ब्याज आम्दानी र मुनाफा घट्न थालेपछि बैंकको दीर्घकालीन रणनीति, जोखिम व्यवस्थापन प्रणाली र क्रेडिट गुणस्तरप्रति बजारमा चिन्ता बढ्न थालेको देखिन्छ।

हालै सार्वजनिक वित्तीय विवरणले एनआईसी एशिया बैंकलाई पुनः रणनीतिक मूल्यांकन र आन्तरिक पुनर्संरचना आवश्यक रहेको स्पष्ट संकेत दिएको छ। यस्ता सूचकहरूले बैंकिङ प्रणालीमा विश्वासको संकट ल्याउने खतरा समेत देखिन थालेको छ।