आठ रात नौ दिन सम्म मनाउने विस्का जात्रा

विविध संकृति - सम्पदा

भक्तपुरको मौलिक कला संस्कृति र जात्रामध्ये विस्केट जात्रालाई प्रमुख रूपमा लिईन्छ। सिन्दूर जात्रा, वालकुमारी जात्रा आदिको रुपमा प्रख्यात यो जात्रामा विभिन्न देवीदेवताको गरी ३२ खटको ( थिमीको २३, नगदेशको १ , बोडेको १ र तिगनीको १) जात्रा गरिन्छ । नेवार समुदायमा प्राय जसो चाडपर्व-जात्रा चन्द्रमास (लुनार क्यालेण्डर अनुसार) हुने भएतापनि बिस्केट जात्रा सौर्यमास (सोलार क्यालेण्डर अनुसार चैत्र मसान्त देखी बैशाख २ गतेसम्म मनाईन्छ । यो पर्व सूर्यमासका आधारमा मेष संक्रान्ती (मेष संक्रान्तिलाई नेवा: भाषामा खाइसन्हु वा खायुसन्हु भनिन्छन् ) आउनु भन्दा  चार दिन अर्थात सौर्य वर्ष शुभारम्भ हुनु चार दिन अघि देखि नै जात्रा स्रुरु भई संक्रान्तिको अघिलो दिन लिङ्गो ठ्ड्याइ संक्रान्तिका दिन लिङ्गो ढाल्ने जात्रा नै मूल त: विइ-सिका विस्का जात्रा हो । लिङ्गोलाई स्थानिय मौलिक भाषामा योसीं द्य: भन्छ्न् । योसीं द्यः मा झुण्डाउने एकजोडा हलिंपत नाग नागनिको जोडिका प्रतिकका रुपमा रहेको विश्वध्वजा हो। यही विश्वध्वजा फहराउने विश्व जात्रालाई विश्वकेतु जात्रा पनि भनिन्छ। विश्व केतु जात्राको अप्रभंश रुप विसक्यात वा विस्का हुँदै अहिले गैह्र नेवा:हरुले विस्केत भन्न थालेका छन् ।

विषुवत् दिनको पूर्व सन्ध्यामा ठड्याउने दुईवटा हात सहितको लिङगोले दिन र रात बराबर छ है भन्ने सन्देश तथा सूर्य भु–मध्यरेखाको ठिक माथि बिच बिन्दुमा छ है भन्ने सन्देश समेत यश बिस्का जात्राले दुनियाँलाई सन्देश प्रदान गरिने गर्छन् भनी प्रबुद्ध वर्गहरुको भनाइ र मान्यता रहँदै आएको छ ।

मध्यपुर थिमिका इष्टदेवी बालकुमारी मन्दिर केन्द्रित रहि गरिने यस जात्रालाई २ वर्ष २ महिना २ दिन र २ घण्टाको जात्रा पनि भनिन्छ । अरु दिन फरक ठाऊमा आ-आफ्नै रुटमा प्रत्येक देवमणको छुट्टा-छुट्टै जात्रा गरिने भएपनि बैशाख २ गते सम्पूर्ण खटलाई बालकुमारीमा ल्याउने गरिन्छ। विस्केटमा जात्रा गरिने ३२ खटमा कौमारी गणमा बालकुमारी र वालाकु (कालीका) ,बाराही गणमा दक्षिण बाराही, हरिसिद्धि ध्य:, विस्नुविर गणमा विस्नुविर , प्रथमगणेश, थास्मा गणेश, गाता गणेश, कोशिना गणेश, राज गणेश, दिगु गणेश, गा:वानानी गणेश र सिवा गणेश तथा गणमा नपरेका चोदे गणेश तथा नगदेशका सिद्धि गणेश , बोडेका पावो गणेश , हासिमाला गणेश, भोरिखा गणेश , न्ह्यु बाराही , पुला बाराही,महालक्ष्मी, कालीका र तिगनीको निलवाराही छन् । त्यस्तै मन विनायक , नारायण हिप ध्यो र वतुक भैरबको जात्र भने बन्द भइसकेको छ ।

आठ रात नौ दिनसम्म मनाउने विस्का जात्रा निम्न अनुसार मनाउने परम्परा रहि आएको छ  :-

. पहिलो दिन याने बैशाख संक्रान्तिको ( खाइसन्हुको )चार  दिन अगादी काशिनाथभैरब तौमढि टोल स्थिता भैरब मन्दिर बाट र भद्रकाली टोल स्थित देवघर बाट  तल राज हुनु भै आआफ्नो रथमा  बिराजमान हुन्छन् । भद्रकाली( खुसिं अजिमा) बिराजमान हुने रथलाई नकिंजू ख:   भनिन्छन् । रथमा बिराज हुनु भए पछि माथिल्लो टोल ( थ:नय् ) र तल्लो टोल ( क्व:नय् ) रथ तान्ने परम्परा रहि आएको छ । रथ  सुरुमा माथी टोलमा तान्ने र तल्लो टोलमा तान्नेभन्ने विषयमा एक आपसमा होडबाजी नै चली रथ तान्नेहरु नियन्त्रण भन्दा बाहिर गएमा माथिल्लो टोल र तल्लो टोलका जात्रालुहरु बिच अक्सर संग्राम नै हुने गर्छ,  यस जात्राको नराम्रो पक्षमा यो एउटा प्रमूख कारण हो ।त्यसदिनको रथ यात्रलाई रथ ग:हिटिमा पुर्याई रथ तान्ने विश्राम लिइन्छन यस लाई स्थानिय भाषामा  द्य:थातेलाकेगु भनिन्छ। त्यसदिन बेलुकी सम्पूर्ण देवगणहरु आ- आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराईन्छन्,  यसलाई स्थानिय न्हाषामा द्य:क्वहाँ बिज्याकेगु भन्ने गरिन्छ ।

.  संक्रान्तिको दुईदिन अगादी अर्थात मसान्तको अघिल्लो दिन सबै देवगणहरु आ-आफ्नो पिथ याने  देवालयहरुमा ( मन्दिर) मा लागि विशेष पुजा गरिन्छर पुन: आ-आफ्नो देवगृह( द्य:छें) मा लगेर राखिन्छ ।

. मसान्तको दिन देखि टोलवासिको पुजा सुरु हुन्छ । सोहिदिन साँझ भैरब र भद्रकालिको रथलाई भैल खेल( लिङ्गो उठाउने स्थास्न)मा पुराइन्छ र रथ  त्यहाँ पुगे पछि लिङ्गो उठाउने जात्रा सुरु हुन्क्छ । लिङ्गो उठे पछि टोल टोलमा तिप्वाजात्रा( छ्वाली बालेर गर्ने जात्रा  सुरु हुन्छ । तिप्वा जात्रामा देवगणलाई आआफ्नो खतमा राखी बाजागाजा सहित आआफ्नो पिठ लगेर राख्छ । यसै दिन तालाक्वमा हात नभएको लिङ्गो उठाइन्छन् ।

.   संक्रान्ती १. गते (खाईसन्हुका) दिन बिहान य:सिंखेल (लिङ्गो ठडायेको स्थल) क्षेत्रको चुपिंगालको हनुमन्ते खोलामा जात्रालुहरुले स्नान गरेर भौरब, भद्रकाली र य:सिंद्य:को दर्शन गर्ने मेला लाग्छ । दिउँसो पिठ पिठमा पुजा हुन्छ । त्यसै दिन इन्द्रायणि ( इलमा अजिमा )को जात्रा हुन्छ । इन्द्रायणिको जात्रा सकायर इन्द्रायणिको फुल प्रशाद लगेर लिङ्गोमा चढाए पछि  लिङ्गो ढालिन्छ । लिङ्गो ढाल्नु अगाडी ठडिरहेको लिङ्गोलाई दुबईतर्फ तानेर लिङ्गो हलाइन्छन् । यसलाई स्थानिय् भाषामा यःसिं द्यः न्हयलं ब्वाकेगु  भन्ने गरिन्छ । लिङ्गो ढालिए पछि भैरब र भद्रकालीको रथ तानेर ग:हिटि लगेर रथ जुधाउने जात्रा गरिन्छ यसलाई स्थानिय भाषामा ख::ल्वाकेगु भनिन्छ । र त्यसपछी अजिमाको जात्रा गरि टोल टोलमा घुमाई स्थानिय टोलवासिको पुजालिने जात्रा हुन्छ यसलाई न्हसत्वामा घुमाउने भनिन्छन् ।

.  संक्रान्तिको भोलिपल्त याने २ गते महाकाली ( मसां अजीमा ) र महालक्ष्मी ( भोती अजिमा) को खतजात्रा गरिन्छन् ।

.  संक्रान्तिको दोस्रो दिन अर्थात ३ गते नगर भरिका बिभिन्न देवी देवताको जात्रा गरिन्छ ।

.  संक्रान्तिको चौथो दिनमा अर्थात ४ गते नगरका सवै देवी देवतालाई नगरवासिहरुले सगुन चढाउने जात्रा नै लाग्छ यसलाई स्थानिय भाषामा द्य:सगंबिइगु भनिन्छ्न् ।

.   मेष संक्रान्ती ( खाई सन्हु )को अघिलो दिन अर्थात चैत्र मसान्तमा तालाक्वमा उठाएर राखेको हात नभएको लिङ्गो लिङ्गो ५ गते ढालिन्छ । त्यही दिन भैरब र भद्रकाली( खुसिं अजिमा) को रथ माथिल्लो टोल ( थ:ने) र तल्लो टोल ( क्वने) परिक्रमा गरिटौमढी(तमारी) टोलमा विस्का जात्रा विसर्जन गरि भैरब र भद्रकाली आ-आफ्नो देवगृहमा माथी विराजमान हुन्छ विस्का जात्राको अन्तिम दिनलाई द्य: थहाँ बिज्याकेगु भन्ने परम्परा रहेको छ । यसरी विस्का जात्रा सम्पन्न हुन्छ ।

रथ पूजा र पस्ता थायेगु :
बोडेको महालक्ष्मी मन्दिर अगाडी बैशाख १ गते पस्ता थायेगु (तीन मुखे बाजा बजाउने) गरिन्छ । गाईजात्राको भोलिपल्टदेखि शुरु हुने नीलबाराही नाचमा बाजा बजाउने भिन्न्दुवा थरका व्यक्तिले सो बाजा बजाउने तथा ८-९ जनाले प्वंगा (तामाको लामो फुक्ने बाजा) फुक्ने गर्दछ । यो संगै चारजनाले गीत गाउने कार्यक्रम हुन्छ । पस्ता कार्यक्रमको अन्तिम समयमा महालक्ष्मी मन्दिरको गजुरबाट कपडाको पता राख्ने काम हुन्छ । जसलाई बाजा बजाउने व्यक्तिले समाएर महालक्ष्मी मन्दिरभित्र प्रतिस्थापित जात्रा गर्ने मूर्तिमा बाँधीदिन्छन । दिउँसो करिब १ बजेतिर बोडेबाट रथ पुजाको आयोजना गरिन्छ । यो अवसरमा विस्केट जात्रामा जात्रा गरिने बोडे, टिगनी, थिमि र नगदेशको सम्पूर्ण देवीदेवताको खटमा र अरू मन्दिरमा पनि पुजा गर्ने गर्दछन । सांस्कृतिक पहिचानको हाकुपतासी लगाएर घिमायबाजा बाँसुरी बाजा सहितको सयौं नर नारि पूजाको लागि आउने गर्दछन् । सोही दिन ध्य म्हुलेगु भनि महिलाहरु बालुकमारी, विष्णुवीर लगायतका विभिन्न मदिरहरूमा निरन्तर परिक्रमा गरिरहन्छन् । बोडेको महालक्ष्मी मन्दिर लगायतका ठाउँहरुमा पनि यसरी ध्य म्हुलेगु गर्ने चलन छ । मठि-मन्दिर परिक्रमा गर्दा मनले चिताएको पाउने जनविश्वास रहेको छ । यसरी ध्य म्हुलेगु गर्दा लुगाहरु समय समयमा फेर्ने गरिन्छ ।

तिसा पिकायेगु , मिखुमेय स्यायिगु
विस्केट चैत्र मसान्तदेखि शुरु हुने भनिएता पनि त्यसको आठ दिनअघि थिमि लायकु ( तत्कालिन दरवार) मा बालकुमारीको विधिविधान अनुसार साईत हेरेर तिसा पिकायेगु (गरमाहना निकाल्ने) कामदेखि विस्केट जात्रा प्रारम्भ हुन्छ । बालकुमारी कुमारी देवीप्रति स्थानीय जनताले चढाएका तिसाः गरगहना लायकुमा कायस्थहरुले सुरक्षित राखेका हुन्छन् । कायस्थहरूले जसले चढाएको हो उसैलाई फिर्ता गर्ने गर्छन र त्यो तिसा वेशाख संक्रान्तिमा पूजासहित बालकुमारी मन्दिरमा चढाइने गरिन्छ । गहना निकालेको चार दिनपछि विसखलको आयोजना र कस: पमा र आचाजुको सहभागीतामा बालकुमारी मन्दिर अगाडि बेलुका बालकुमारी , दक्षिणबाराही, हरिसिद्धि र अजिमाको खट बिसाउने ठाउमा रातो माटोले लिपेर नित्य पूजा (निमन्त्रणा पूजा) गरिन्छ । बोडेमा पनि त्यही दिन बाराहीको नित्य पूजा गरिन्छ भने त्यसको भोलीपल्ट कुमारी र मसान्तको अघिल्लो दिन महालक्ष्मीको पूजा हुन्छ । चैत्र मसान्तको दिन थिमिको जेष्ठ व्यक्तिको घरबाट पता (मुकुट) सहित बाजागाजाका साथ् बालकुमारी मन्दिरमा पूजा गर्न आऊछन् । पूजासंगे कपडा ओछ्याएर (वासालाया) ल्याएको मिखुमेयको बेलुका बलि दिई मासु मात्र निकाली एक्मुखे तराजुमा (अमु ) जोख्ने काम गरिन्छ । सो मासु वैशाख १ गते सम्पूर्ण जनतालाई प्रसादको रूपमा वितरण गरिन्छ ।

गुसि छवयकेगु
चैत मसान्तका दिनमाजात्रा गर्ने देवी देवताको मूर्तिलाई आ-आफनो मन्दिरमा ल्याई प्रतिस्थापन गर्ने र विभिन्न स्थानमा गुसि छवयकेगु गरिन्छ । देवीदेवता राख्ने पालो भाएक घरबाट धिमाय: लगाएतका बाजा-गाजाका साथमा
मूर्तिलाई मन्दिरमा विराजमान गराइन्छ । यो दिन थिमीको विष्णुवीर(वैस्नवि) लाई मन्दिर प्रवेश गराउदा रमाइलो दिने भएकोले दर्शनार्थीहरुको घुईचो लाग्ने गर्छ । त्यहीं दिन बेलुका विष्णुवीर मन्दिर , लायेकु लगाएतका ठाउँमा र विभिन्न टोल-टोलमा गुसि छवयकेगु गरिन्छ । गुसिको अर्थ वनको काठ र छवयकेगु भनेको आगो बाल्नु हो । यसबेला समयबजी प्रसादको रूपमा खाने गरिन्छ । थिमिको लायकु अगाडी नगदेशका पमा: हरु आएर गुसि छवयकेगु गरिन्थ्यो तर अहिले यो चलन बन्द भईसकेको छ । बोडेमा भने यो कार्य जिब्रो छेड़ने व्यक्तिको घर अगाडी गरिन्छ । जिब्रो छेड़ने व्यक्तिलाई साहस र धैर्यधारण आग्रहका साथ धुनिको टिका फूलप्रसाद र समयबजी प्रसादको रुपमा दिईन्छ । त्यसपछि जिब्रो छेड़ने व्यक्तिले आइमाईलाई छुन नहुने, सुतक, जुठो परेको तथा कुकुरलाई समेत छुन नहुने र त्यसो भएमा जिब्रो छेड़ने बेलामा रगत आउने, विघ्नवाधा आउने धारणा रहेको पाइन्छ ।

इतिहास:
परापूर्वकालमा राजकुमारीको नाकबाट निस्केर उनकै वरलाई हत्या गर्ने सर्प मारेको (बि स्यातः) उपलक्ष्यमा भक्तपुरको विस्केट जात्रा मनाएको भन्ने जनधारणा रहेको पाइन्छ । त्यसैको प्रतिक स्वरुप लिङ्गो ठड्याएर विश्वध्वजा फहराएको पनि भनिन्छ ।  नाग वा सर्पलाई नेवा भाषा(नेपाल भाषा)मा ” विइ ” भनिने र मरेकोलाई ” सिका ” भनिने भएकाले विइ याने नाग वा सर्प  सिका याने मरे पछि हुन गएको वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने  यो जात्रा  नाग वा सर्प मरे पछि  मनाउने किम्बदन्ती संग गासिएकोले विइ र सिका  दुई शब्द समायैजन (विइ + सिका = विसिका) हुँदै आएको होस वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने  जात्रा भई विषुवत् कालमा मनाउने यो जात्रालाई समयको अन्तराल संगै  बिसिका मा रुपान्तरण भएको होस् यो जात्रा  विस्का पर्व आठ दिन नौरात सम्म मनाउने यो विस्का जात्रा  प्रत्यक सौर्य वर्षको बशन्त ऋतुमा मनाउँदै आएको छ । तर बिस्केट जात्रासंग यो परम्परागत कथनको त्यति सम्बन्ध रहेको देखिदैन । इतिहासविद बैकुण्ठहरि श्रेष्ठको नेस्टार अंक ३ बाट शब्द सापटी लिने हो भने बालकुमारीको मन्दिर यक्ष मल्लले नेपाल संवत ५४० मा ठूलो बनाई बिस्केट जात्रा पनि चलाएको हुनुपर्दछ । भक्तपुरको टौमढीमा नेपाल संवत ५६१ मा प्रतिस्थापित शिलालेखमा विश्व जात्रा उल्लेख भएबाट पनि यक्ष मल्लले नै चलाएको हो कि भन्ने आशंका हुन्छ । तर प्राचीन नेपाल पत्रिकामा थिमि बालकुमारी सम्बन्धि केहि कागजातहरुका अनुसार सम्वत ४७४ मा राजा जयस्थिति मल्लले वैशाख संक्रान्तिको राति बालकुमारी मन्दिरमा थापना पूजाको लागि आवश्यक व्यवस्था गरी विधिविधान बाधेकोबाट बिस्केट जात्रा नेपाल संवत ४७४ भन्दा अगाडी देखिने चलेको स्पष्ट हुन्छ । पछि गंगा मानहारानीले थिमीको बिस्केट जात्रा व्यवस्थित गर्न योगदान गरेको कुरा उल्लेख भएको पाइन्छ ।
यी रितिरिवाज र जात्राहरुको अलावा चान्हेसिया: जात्रा , सुथेसिया जात्रा , लिङ्गो ठड्याउने , विष्णुवीर गण जात्रा , सिद्धिकाली गण जात्रा , सिद्धिगणेश जात्रा (नगदेश), जिब्रो छेड्ने जात्रा , तिगनी निलवाराही जात्रा र लोकन्थली सिद्धिकाली जात्रा पनि बिस्केट जात्रा अन्तर्गत हुने जात्राहरु हुन् ।