रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्वाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन । उनले जनता भन्दा माथि कोहि नरहेको पनि दाबी गरे ।
रौतहटको गरुडामा बिहिवार पार्टीको नवौं जिल्ला अधिवेशनको उदघाटन गर्दै उनले राजवादीहरुको तिनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे ।
उनले राजावादीहरुद्वारा आफनो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तीमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ती जलाउने लगायतका कार्य गरेको उल्लेख गरेका छन ।

उनले भने,‘चैत्र १५ गते राजावादिहरुले तिनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ । अव राजामहाराजाको कुनै काम छैन । अव जनता नै सवैथोक हो । हामी सबैको सामु भनिरहेका छौ । हामी जनताको सेवामा लागिरहेका छौ । समाज परिवर्तनमा लागिरहेका छौ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काठमाडौंमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपुर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन ।पार्टीका नवौं जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा नेकपा एसको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए ।
सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे , रामकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
