सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार स्थायी संरचना हो भनी आभाष दिन नसक्दा नेपालको व्यवस्थामाथि प्रश्न उठेको बताए ।
बिहीवार काठमाडौंमा आयोजित ‘सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध’ छलफल कार्यक्रममा बोल्दै उनले प्रदेश र संघमा नेतृत्व परिवर्तन हुँदा योजना नै परिवर्तन गर्नाले सरकार स्थायी संरचना भन्ने आभास नहुने बताएका हुन् ।
उनले भने, ‘योजना बनाउँदा अगाडिको सरकारको योजना फालिहाल्ने होइन त्यसलाई निरन्तता दिनेगरी आफ्नो पाला के थप्ने हो थपी परिपार्जन गर्ने हो । सरकार एउटा स्थायी संरचना हो भनि पुष्टि गर्नुपर्छ । सरकार स्थायी संरचना हो यहाँ व्यक्ति पो परिवर्तन हुन्छ, नेता, नेतृत्वमात्र परिवर्तन हुन्छ भन्ने आभास नलिएर नै नेपालको व्यवस्थामाथि प्रश्न उठिरहेको छ । माथी संघका पनि त्यही समस्या छ ।’

उनले प्रदेश सरकारले निश्चित लक्ष्य लिएर काम गर्नुपर्ने बताए । यसका साथै उनले संघीयता कार्यान्वयनको प्रभावकारिताको लागि अन्तरप्रदेश परिषद्लाई व्यवस्थित गनुपर्ने बताए ।
‘हाम्रो पहिला चाहीं संघीयता कार्यान्वयनको लागि प्रभावकारी भमिका खुल्नुपर्ने के छ भने अन्तरप्रदेश परिषद्लाई व्यवस्थित गरौं । यसलाई कानून सम्मत गरौ । कानून बनाई व्यवस्थित गरौ । जनशक्तिको व्यवस्थापन गरौ । मुख्यमन्त्री नहुँदा सिधै अन्तरप्रदेश परिषदको सचिवालयमा गएर आफ्नो समस्या भन्न तलका प्रमुखले त्यही गएर भन्नुपर्छ,’ उनले थप भने ।
साथै उनले संघीयतालाई सफलतापूर्वक कार्यान्वयन गर्नको लागि अन्तरसरकारी समन्वय र त्यसलाई व्यवस्थापन गर्ने ऐनको जरुरी भएको पनि बताए ।
