निजी क्षेत्रको सम्मान र आर्थिक सुधारको माग: अध्यक्ष ढकालको आव्हान – ‘हामीले नसके कस्ले सक्छ?

अर्थ समाचार

काठमाडौं, वैशाख २८ – नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई “निर्वाध काम गर्ने वातावरण” बनाउन सरकारलाई स्पष्ट सन्देश दिएका छन्। दुई वर्षे कार्यकालको समीक्षा गर्दै उनले पछिल्लो समयको आर्थिक निराशालाई चिर्न व्यापक सुधारको खाँचो औंल्याए।

“हामीले नसके कस्ले सक्छ?” भन्दै उनले मुलुकको समृद्धिको नेतृत्व अब निजी क्षेत्रले लिनुपर्नेमा जोड दिए। “निजी क्षेत्रलाई अपमान नगर्नुहोस्, रोजगारी दिने क्षेत्रलाई सम्मान दिनुहोस्,” भन्दै ढकालले सरकार, प्रशासन, मिडिया र नागरिक समाज सबैलाई सम्बोधन गरे।

ढकालले औंल्याए अनुसार, निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी सिर्जना गरेको छ, तर अझै पनि नीतिगत अप्ठ्यारो, असहयोगी वातावरण र अतिकठोर नियमनको मार खेपिरहेको छ। उनले भने, “बजार नियन्त्रणको नाममा राजस्व गुमायौं, अनौपचारिक व्यापार मौलायो, लगानीकर्ताको मनोबल कमजोर बन्यो।”

नेपाल अहिले विदेशी लगानीको हिसाबले कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै ओगटिरहेको उल्लेख गर्दै ढकालले सन् २०३० सम्म वार्षिक १ अर्ब डलर बराबरको एफडीआई भित्र्याउने लक्ष्य लिन आह्वान गरे। “यो असम्भव छैन,” भन्दै उनले नेपालसँगै डब्लुटिओमा प्रवेश गरेका क्याम्बोडिया र भियतनामका सफलताका उदाहरण समेत प्रस्तुत गरे।

ढकालले बंगलादेश, कोरिया, रुवान्डा लगायतका मुलुकले निजी क्षेत्रको सम्मान गरेर कसरी समृद्धि हासिल गरिरहेको देखाउँदै भने, “हामीसँग पनि त्यस्तै क्षमता छ। हामी विवेकी छौं, उद्यमी छौं, तर अर्थतन्त्रलाई माथि राख्न सक्नुपर्छ।”

उनले सरकारले सुशासन, सेवा प्रवाहमा सुधार, लगानीमैत्री वातावरण र नागरिक एप जस्ता प्रविधिमैत्री उपायलाई तत्काल कार्यान्वयनमा ल्याउन सुझाव दिए। साथै, “अबको समृद्धि दातृ निकाय होइन, आन्तरिक पूँजी परिचालनबाट सम्भव हुन्छ,” भन्दै निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारको रथ अघि बढाउने प्रस्ताव गरे।

अन्त्यमा, ढकालले प्रधानमन्त्री, मन्त्रीगण, सचिवस्तरका प्रतिनिधिहरू, तथा उपस्थित सम्पूर्ण सरोकारवालालाई सम्बोधन गर्दै आग्रह गरे, “सिर्जनशीलता र सम्भावनाको मूल स्रोत निजी क्षेत्रलाई रोकिन नदिऊँ। निजी क्षेत्रको सम्मान नै समृद्धिको आधार हो।”