रामेछाप, मन्थली — २०५५ सालमा रामेछापको मन्थली नगरपालिका–८, टेकानपुरका २५ जना महिलाले मासिक १० रुपैयाँका दरले जम्मा गर्दै सुरु गरेको नवजागरण बचत तथा ऋण सहकारी संस्था अहिले झण्डै ७१ करोड रुपैयाँ सम्पत्तिको मालिक बनेको छ। सुरुआतमा जम्मा २५ सय रुपैयाँ संकलन गरेर स्थापना गरिएको यो संस्था अहिले १० हजार ८० सदस्यको साझा संस्था बनेको छ।

सहकारीका व्यवस्थापक रमेश उदासका अनुसार सहकारीको कुल शेयर पूँजी ४ करोड ४३ लाख ९३ हजार रुपैयाँ पुगेको छ। हालसम्म सहकारीको जगेडा कोषमा ६ करोड ९० लाख ५२ हजार तथा अन्य कोषमा ९० लाख रुपैयाँ संकलन भइसकेको छ।

सहकारीमा अहिले ५४ करोड ५० लाख रुपैयाँको बचत निक्षेप रहेको छ भने ३७ करोड ५२ लाख रुपैयाँभन्दा बढी ऋण लगानीमा रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ। हाल संस्थामा ७ सय जना ऋणी सदस्य सक्रिय छन्।
गाउँबाट सहरसम्मको यात्रा
स्थापनाको सुरुका सात वर्षसम्म गाउँमै सञ्चालन गरिएको यो सहकारीले सोचे अनुसार सफलता पाउन सकेन। सदस्य संख्या र कार्यक्षेत्र समेत सीमित रह्यो। पछि व्यवसायी तथा सामाजिक अगुवासँगको सल्लाहमा सहकारीको कार्यालय २०६२ सालमा मन्थली बजार सारियो। त्यसपछि सहकारीले उल्लेखनीय फड्को मारेको देखिन्छ।
हाल नवजागरण सहकारीको सेवा क्षेत्र मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकासम्म फैलिएको छ।
प्रविधि र सामाजिक सेवामा अग्रणी
संस्थाका अध्यक्ष सोमेश थापाका अनुसार सहकारीको आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी त्यहीँबाट सेवा प्रदान गरिँदै आएको छ। सहकारीले शेयर सदस्यको सुविधाका लागि एटिएम सेवा, मोबाइल बैंकिङ, बिल भुक्तानी तथा मोबाइलमार्फत रकम ट्रान्सफर जस्ता डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।
साथै, बजार क्षेत्रका व्यवसायीलाई क्युआर कोड वितरण गरी मोबाइलमार्फत कारोबार गर्न सहज बनाइएको छ। व्यवसायी राकेश गुप्ताका अनुसार यस सेवाले उपभोक्तालाई डिजिटल पेमेन्ट गर्ने वातावरण तयार पारेको छ।

सदस्य हितका विशेष कार्यक्रमहरू
सहकारीले केवल बचत र ऋण कारोबारमा मात्र सीमित नरही सदस्य हितका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
– बचत सदस्यको मृत्यु भएमा रु. २०,००० राहत,
– परिवारका सदस्यको निधनमा रु. ३,००० सहयोग,
– नवजात शिशुको नाममा खाता खोलेमा सहकारीबाट रु. ५०० थप बचत,
– गर्भवती तथा सुत्केरी महिलाको सहयोग,
– ज्येष्ठ नागरिक र असल सदस्यको सम्मान,
– आकस्मिक बिरामी अवस्थामा विना धितो ऋण उपलब्धजस्ता कार्यक्रमहरू यसमा समावेश छन्।
स्थानीय बासिन्दाहरूका अनुसार सहकारी संकटका बेला मात्र हैन, खुसीमा पनि साथ दिने स्थानीय आर्थिक सञ्जालको भरोसायोग्य हिस्सा बनेको छ।
