बल्खुमा राप्रपाको खबरदारी सभा, सुरक्षा व्यवस्था निकै कडा

राजनीति समाचार

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आयोजनामा बल्खुमा बृहत् खबरदारी सभा सुरु भएको छ। राजधानीका विभिन्न क्षेत्रबाट आएका राप्रपाका नेता तथा कार्यकर्ताहरू बल्खुतर्फ ताँती लागिरहेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरू भने पहिले नै सभास्थलमा पुगिसकेका छन्।

यसपटकको खबरदारी सभामा सरकार निकै सजग देखिएको छ। चैत १५ गते तीनकुनेमा राजावादीको विरोध प्रदर्शन हिंसात्मक बन्दै दुई जनाको मृत्यु भएपछि गृह प्रशासन अहिलेको प्रदर्शनमा कुनै खालको जोखिम नहोस् भन्ने सोचसहित तयारीमा जुटेको छ।

सुरक्षामा कडाइ, घुसपैठ रोक्न स्वयंसेवक

सरकारले बल्खुमा हुने यो प्रदर्शनका लागि व्यापक सुरक्षा घेराबन्दी गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौं सुरक्षाकर्मीहरू बल्खु र वरपरका क्षेत्रमा पहिले नै तैनाथ भइसकेका छन्। तीनकुनेको घटनाले देखाएको सुरक्षा कमजोरी नदोहोरियोस् भनेर यो पटक सुरक्षा निकायले चनाखो निगरानी गरिरहेको छ।

राप्रपाले पनि आन्तरिक सुरक्षा सतर्कता अपनाएको छ। पार्टीले सभा स्थलमा अनावश्यक व्यक्तिको घुसपैठ हुन नदिन स्वयंसेवकहरूको परिचालनमा विशेष ध्यान दिएको जनाएको छ।

सभामा पार्टी अध्यक्ष लिङ्देनसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा राप्रपाका केही नेताहरूको पनि उपस्थिति रहेको चर्चा भएकोले यसपटकको सभा अझ बढी संवेदनशील बन्न पुगेको छ। त्यसैले सुरक्षा निकायहरू पनि राप्रपाको मंगलबारको सभा र जुलुसमा गम्भीर निगरानी गरिरहेका छन्।