प्रधानमन्त्री ओली र थाइ समकक्षी सिनावात्राबीच भेटवार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुँदै

अन्तराष्ट्रिय राजनीति

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ।

भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। यो नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको पहिलो औपचारिक भ्रमण हो, जो थाइल्याण्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा सम्पन्न भइरहेको छ। भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई देशबीचका गैरसरकारी तथा व्यावसायिक संस्थाहरूबीच छवटा सहमतिपत्र आदानप्रदान हुनेछन्।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्। उनले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम समेत छ।

प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न औपचारिक भ्रमणका लागि थाइल्याण्ड आइपुगेका हुन्।