
लुम्बिनी क्षेत्रको प्रमुख सहर सिद्धार्थनगर हो । भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीसँगै जोडिएको सिद्धार्थनगर यस क्षेत्रको घना बस्ती भएको क्षेत्र पनि हो । सहरीकरण र औद्योगिकिरणसँगै यो सहर दिन प्रतिदिन विस्तार भई रहेको छ । पैदल मार्गबाट नेपालमा भित्रिने सबैभन्दा धेरै पर्यटक पनि यही मार्ग हुँदै भित्रिन्छन् । यसर्थ सिद्धार्थनगर लुम्बिनी क्षेत्रको पहिचानसँगै जोडिने पहिलो सहर पनि हो । यही सहर हुदै बग्ने एक मात्र नदी डण्डा खोला हो । जसको लम्वाई करिब २२ किलोमिटर रहेको छ ।
यो खोला सिद्धार्थनगरको बाग्मती हो । अर्थात काठमाडौंका लागि बाग्मती महत्वपूर्ण भएजस्तै सिद्धार्थनगरका लागि डण्डा महत्वपूर्ण । जंगल र सिमसार क्षेत्र हुँदै सहर पस्ने यो नदी सिद्धार्थनगरको प्राकृतिक मुटु तथा वस्तीको बिचमा रहेको प्राकृतिक पार्क र किसानका लागी अन्नदाता पनि हो ।
बढ्दो सहरीकरणले डण्डा खोलाको प्राकृतिक रुप फेरेको छ । डण्डा खोला सिद्धार्थनगरको फोहोर विसर्जन गर्ने थलोमा परिणत हुन थालेको छ । सभ्यताको इतिहामा नदि किनारमै सभ्यताको सुरुवात भएको पाईन्छ । सभ्यताको मलजलमा नदिको ठूलो योगदान हुन्छ । इजिप्टको सभ्यता, सिन्धुघाटीको सभ्यता होस या हाम्रै बाग्मती सभ्यता यी सबै नदि किनारमै मौलाएकाछन् । मान्छेको अस्तित्व र सामुदायीक प्रक्रियामा नदि गहिरो सँग जोडिएको छ ।
बौद्ध धर्मावलम्बीको महत्वूर्ण थलो लुम्बिनी नजिकैको डण्डा खोला पनि मानविय प्रदुषणको सिकार बन्न थालेको छ । खोलाको दक्षिणी भागमा सिद्धार्थनगरको फोहोर विर्सजन केन्द्र बनेको छ । खोला आसपासमा प्लास्टिक र फोहोर जलाउन थालिएको छ । नदि आसपासका क्षेत्रमा, नदिको सिमा अतिक्रमण गरेर ईटा उत्पादन कारखाना संञ्चालन गरिएकाछन् । ईटा कारखानाका फोहोर सिधै नदीमा मिसाईएको छ । यस्ता अप्राकृतिक गतिविधिले डण्डा खोलालाई संकटमा पारेका छन् ।
जंगल र सिमासार क्षेत्र हुँदै सहर पस्ने यो खोला सिद्धार्थनगरको प्राकृतिक मुटु हो । सहर, वस्तीको बिचमा बनेको प्राकृतिक पार्क हो । स्थानीय किसानकालागि अन्नदाता हो, किनभने यो खोला सिचाँईका लागि पनि प्रयोग गरिन्छ । नेपाल भारत सिमा नाका, धार्मिक पर्यटकीय स्थल लुम्बिनी र बढ्दो सहरीकरणले सिद्धार्थनगरमा मानविय चाप बढ्दो छ । त्यसमाथि औद्योगिक करीडोरसँगै निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि डण्डा खोलामा पर्दै गएको छ । यो चाप आगामी दिनमा झन बढ्दै जाने पनि देखिन्छ ।
सिद्धार्थनगरलाई प्राकृतिक सुन्दरता र वातावरणीय दृष्टिले स्वच्छ राख्न अहिले ‘डण्डा खोला बचाउ अभियान’ अर्थात डण्डा इकोलजिकल मनिटरीगं प्रोग्राम (डिईएमपी) पनि सुरु गरिएको छ । प्रतिमान निमा स्मृति प्रतिष्ठानले अमेरीकाको द युनिभर्सिटी अफ न्यू मेक्सिको विश्व विद्यालयको नेपाल अध्ययन केन्द्रसँगको सहकार्यमा डण्डा बचाउ अभियान सुरु गरिएको छ ।
स्थानीय विद्यालय, कलेज, संघसंस्था र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा सुरु गरिएको यो कार्यक्रमले डण्डा खोलाको जैविक, पर्यावरणीय र वातावरणीय अध्ययन गरिरहेको छ ।
सन् २०१७ डिसेम्बरमा डण्डा खोलाको संभाव्यता अध्ययन थालेका छौ । सिमसार, जंगल र सहरीक्षेत्रमा बग्ने यो खोलालाई बायो, इको पार्कको रुपमा विकास गर्न सकिने संभावनाहरु देखिएकाछन् । अमेरीकी विश्व विद्यालयका विज्ञहरुको अध्ययनले यो खोलालाई बायो, ईको अध्ययन केन्द्रसँगै पार्कको रुपमा विकास गर्न सकिने निष्कर्ष निकालेकाछन् ।
त्यसो त सिद्धार्थनगर नगरपालिकासँगपनि यो खोलालाई प्रयोग गर्ने योजना छ । नगरपालिकाको योजनामा डण्डा खोलाको प्राकृतिक स्वरुप जोगाउनेफर्त विशेष ध्यान दिन जरुरी छ । नगरपालिकाले तयार पारेको डिपिआर (बिस्तृत परियोजना प्रतिवेदन) मा सिद्धार्थनगरले खोला किनारमा कंक्रिट बाटो बनाएर, खोला किनारको सिमसार क्षेत्रलाई पिकनिक स्थलको रुपमा विकास गर्ने योजना बनाएको छ । निश्चय नै नगरपालिकाको आम्दानीका लागि उसले बनाएको योजना सहि होला । तर, प्रदुषित खोला किनारमा मर्निङ वाक गराउनु कति उपयुक्त ? प्रदुषित खोला किनारमा पिकनिक मनाउन को आउँलान ?
खोलालाई सुरक्षित र प्राकृतिक स्वरुपमै राखे पनि नगरपालिकाले मनग्गे आम्दानी गर्न सक्छ । यसको सजिलो एउटा उपाय हुनसक्छ खोलामा बोटिगं गराउने । सेभ डण्डा अर्थात डन्डा खोला इकोलोजिकल मनिटरीगं कार्यक्रम सुरु गर्दा नै खोलामा नमुना बोट परिक्षण गरिएको थियो ।तर, अचम्म भन्नुपर्छ भर्खरै मात्रै सिद्धार्थ नगरपालिकाले डण्डा खोलामा बोट संञ्चालन गर्ने भन्दै बोलपत्र आह्वान गरेको छ । निश्चय नै बोटीगं गर्न सकिन्छ । तर, बोटिगं गर्न पनि खोला सफा हुनुपर्यो । कमसेकम बोटिगं गर्ने मानिसले स्वच्छ पानी त छुन पाउनु पर्यो ।
खोला सफा गरौँ । खोलालाई प्राकृतिक रुपमा फिर्ता ल्याउँ, खोला प्रदुषित नगर्ने योजना लागु गरौँ, अनि खोलामा बोटिंगसँगै फिसिगं समेत गर्न सकिन्छ । स्वच्छ हावामा श्वास फेर्दै मर्निगं वाक पनि गर्न सकिन्छ । खोलाको कलकल आवाजमा रम्दै पिकनिकको आनन्द पनि लिन सकिन्छ । खोलामा जाडो याममा आउने साईबेरियन चरा हेर्दै आनन्द लिन सकिन्छ ।
अमेरीकी अध्येताले पर्यावरण अवलोकनका लागि उपयुत्त ठहर्याएको डण्डा खोलालाई प्राकृतिक रुपमै जोगाउने योजना बनाउँदा वाईल्ड लाईफ सम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बन्न सक्ने उनीहरु बताउँछन् ।
डण्डा इकोलोजिकल मनिटरीगं कार्यक्रम अन्र्तगत अहिले डण्डा खोलामा पानीको बहाव र सतह मापन गर्ने ‘लेभिलगर’ जडान गरिएको छ । खोलामा पानीको बहाब र सतहको जानकारी दिने यो यन्त्रले बाढीको पनि पूर्वानुमान गर्न सक्छ ।
यससँगै यो क्षेत्र अत्याधिक उद्योग भएको क्षेत्र पनि हो । उद्योगका कारण यहाँको वायु पनि प्रदुषित छ । त्यो प्रदुषित वायुको जालोबाट मुक्ति पाउने बाटो बन्न सक्छ डण्डा खोला ।वायु प्रदुषण मापन गर्न पनि अध्येताहरु लागेका छन् । अध्येताहरुले अहिले इनडोर र आउटडोर वायु प्रदुषण मापन गर्ने यन्त्र विभिन्न स्थानमा जडान गरेकाछन् । एउटा इनडोर वायु प्रदुषण मापन यन्त्र सिद्धार्थनगरपालिकाका मेयर ज्युकै कार्यकक्षमा समेत जडान गरिएको छ ।
यो प्रदुषण मापक यन्त्रमा १ देखि ५० समम्मको सूचकलाई सामान्य मानिन्छ । तर, सिद्धार्थनगरमा वायु प्रदुषणको सूचक ३ सय ५० सम्म पुगेको छ । जुन निकै खतरनाक अवस्था हो । भातरसँग जोडिएका सहरको हावाबाट आउने प्रदुषणको खतरा पनि उक्तिकै रहेको अध्येता बताउने गर्छन । अवस्था यस्तै रह्यो भने सिद्धार्थनगर पनि मास्क सिटी बन्ने जोखिम बढ्दै गएको छ ।
वायु प्रदुषणले फोक्सो र श्वास प्रश्वाससँग सम्बन्धित रोग मात्रै होईन छालाका रोगीको संख्या पनि बढ्छ । डिसेम्बरको एक महिना अगाडी र पछाडी सिद्धार्थनगरको इनडोर प्रदुषण अत्याधिक बढेको देखिन्छ । यही समयमा यहाँ दम, एलर्जीका बिरामी बढेको तथ्याकं पनि अस्पतालमा पाईन्छ ।भर्खरै डिसेम्बर २०१८ मा जडान गरिएको पर्पल एअर नामक बाह्य वातावरणको प्रदुषण मापन गर्ने यन्त्र पनि जडान गरिएको छ । पर्पल एअरको वेवसाईटमा गएर यो यन्त्र जडान गरिएका क्षेत्रको लाईभ(प्रत्यक्ष) प्रदुषणको अवस्था हेर्न सकिन्छ । यी सबै यन्त्रहरु जडान गर्नुको मुख्य उदेश्य नै प्रदुषणको चपेटाबाट सिद्धार्थनगरलाई जोगाउनु हो । प्रदुषणको अवस्थाबारे सचेतना गराएर आफ्ना वरपरका प्राकृतिक स्रोतलाई प्रदुषित हुनबाट जोगाउनु हो । वातावरण र दैनिक जीवनसँग जोडिने प्राकृतिक स्रोत नदि नै हो । प्रदुषण मापन गर्न जडान गरिएका यी प्रविधीबाट प्रदुषणको वैज्ञानीक अनुसन्धानसँगै समस्या समाधान र भोलीको मार्गचित्र बनाउन पनि यसले सहयोग गर्छ ।
सिद्धार्थनगरका बहुमत मानिसमा नदी संरक्षण गर्नुपर्छ भन्ने चेत आउनु महत्वपूर्ण कुरा हो । केही वर्ष मात्रै खोलालाई मानविय गतिविधिबाट मुक्त राख्ने हो भने पनि धेरै समस्या समाधान हुनसक्छन् । खोलाको अध्ययन र अनुसन्धानका लागि आएको विज्ञको सुझाव अनुसार खोला संरक्षण गर्न सकिन्छ । खोला संरक्षणको लागि विज्ञको टोली र संरक्षणको योजना पनि प्रतिष्ठानले नगरपालिकालाई बुझाएको छ ।
अमेरीकाको एल विश्व विद्यालयसँग मिलेर गरिएको एक अध्ययनले वरिपरिको क्षेत्रको पानीमा आर्सेनिक पनि रहेको देखाएको छ । स्वास्थ्य मन्त्रालयले २०६८ मा गरेको अध्ययनले पनि भैरहवामा जमिनबाट निकालिने कूल पानीमध्ये ५० प्रतिशत पानीमा कोलिफम नामक ब्याक्टेरीया भेटिएको देखिन्छ । यस्ता जोखिम न्यूनिकरण गर्न पनि डण्डा खोला सुरक्षित गर्नैपर्छ ।
अर्कोतर्फ तराईमा गरिएका विभिन्न अध्ययनले तराईमा जमिनमूनको पानी पनि कम हुँदै गएको देखाउँछ । गत जेठमा लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले पनि यो क्षेत्रमा प्रदुषण नियन्त्रण गर्ने प्रतिबद्धता जाहेर गरेको छ । तसर्थ पनि यो क्षेत्रको प्रदुषणको बारेमा बेलैमा सजग हुन जरुरी छ ।
विद्यालय र कलेजदेखि नै नागरिकलाई प्रदुषणप्रति सजग गराउन र प्रदुषणका क्षेत्रमा अध्ययन गराउन पनि प्रतिष्ठानले अहिले इको क्लब अभियान पनि थालेको छ । यस क्षेत्रका विद्यालय र कलेजमा यस्ता इको क्लब खोलिएकाछन् । यी क्लबमा सहभागि युवाले वातावरण प्रदुषणसँग सम्बन्धीत विषयमा नेपालमै विदेशी विज्ञहरुको नजिक रहेर अध्ययन गर्न पाउँछन् । यसबाट उनीहरुले वैज्ञानीक अनुसन्धान र अध्यनका विधिसँगै प्रदुषणको विषयमा पनि जानकार हुन्छन् ।
डण्डा खोला सफा र स्वच्छ राखेर नै सिद्धर्थ नगर धनि हुनसक्छ । स्वस्थ हुनसक्छ । सहरी सौन्दर्यको पर्याय बन्न सक्छ डण्डा । डन्डालाई प्राकृतिक रुपमा सुरक्षित राख्दै बायो, ईको पार्क र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने बाटेमा सिद्धार्थनगरले ध्यान दिन जरुरी छ ।
स्वाती थापा
(थापा, प्रतिमान निमा स्मृति प्रतिष्ठानकी समिति सदस्य तथा कार्यकारी निर्देशक हुन् । उनी राष्ट्रिय प्रकृति संरक्षण कोषको समिति सदस्य पनि हुन् ।)



